भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन सम्पन्न भएको छ । भारतको सर्वोच्च पदका लागि सत्तारुढ कंग्रेस पार्टीका वरिष्ठ नेता प्रणव मुखर्जी र पूर्व सभामुख पीए सांग्मा चुनावी मैदानमा छन् । अधिकांश दलको समर्थन पाएका मुखर्जी राष्ट्रपति चुनिने निश्चितप्रायः छ । सत्तारुढ गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्स् यूपीएको अप्ठ्यारो घटक तृणमूल कंग्रेसले पनि अन्तिम समयमा आएर मुखर्जीलाई समर्थन गरी मतदान गरेको छ ।
कंग्रेससहित यूपीएका सबै गठबन्धनकारी घटकका अतिरिक्त बाहिरबाट सरकारलाई समर्थन गरिरहेका र विपक्षमा रहेका केही दलले समेत मुखर्जीलाई साथ दिएका छन् । समाजवादी पार्टी, बहुजन समाज पार्टी, केही वाम दल, जनता दल युनाइटेड र शिव सेना जस्ता घटकले मुखर्जीको पक्षमा मतदान गरेका बताईएको छ ।
यस हिसाबले इलेक्टोरेल कलेजको करिब ६७ प्रतिशत मत मुखर्जीले प्राप्त गर्ने निश्चित छ । मनोनित बाहेकका सबै केन्द्रीय सांसद र राज्यहरुका विधायक इलेक्टोरेल कलेजमा मतदाता रहने व्यवस्था छ । अर्का प्रत्याशी सांग्मालाई भने प्रमुख विपक्षी दल भारतीय जनता पार्टी, जयललिताको एआईडीएमके, शिरोमणि अकाली दल, बिजु जनता दल लगायतका घटकले समर्थन गरेका छन् ।
राष्ट्रपति चयनका लागि आज निर्वाचन सम्पन्न भए पनि मतगणना भने आइतबार मात्रै हुनेछ । आइतबार साँझ मतपरिणाम आउने अपेक्षा गरिएको छ । हालकी राष्ट्रपति प्रतिभादेवी सिंह पाटिलको अवधि आउँदो मंगलबार सकिने भएकाले नयाँ राष्ट्रपतिले बुधबारदेखि मात्रै रायसिना हिलमा आफ्नो काम सुरु गर्नेछन् । १३ औं राष्ट्रपतिका रुपमा रायसिना हिल पुग्ने व्यक्तिका लागि राष्ट्रपति पदको गरिमामय छवि पुनःस्थापना गर्ने चुनौती छ ।