देउखुरीमा बाढी प्रभावितको उद्धारमा संलग्न एक सशस्त्र प्रहरी सहायक हवल्दारको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सीमा सुरक्षा बल अर्जुनखोलामा कार्यरत दैलेख चिसापानी निवासी सशस्त्र प्रहरीका सहायक हवलदार २७ वर्षीया रामबहादुर राना रहेका छन् ।
सोनपुर गाविस ३ डोडही खोलामा आएको वाढीले डुवानमा परेका स्थानीय बासिन्दाको उद्धारका लागि गएका राना डुबेर घाइते भएका थिए । घाइते रानाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता सिसहनिया ९ भगवानपुरकी ४५ वर्षीया खेरिना निसा र गोवैडिया ९ का ज्ञानबहादुर पुनको बाढीमा परी मृत्यु भएको छ ।
भगवानपुरकै कमरुन निसा बेपत्ता छिन् । मानिसहरु उच्च टापु तथा रुख रुखमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका छन् । केहीलाई उद्धार गर्न सकिए पनि धेरै समस्या देखिएको उद्धारमा संलग्न सेना तथा प्रहरीले बताएका छन् । उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको दाङका प्रमुख जिल्ला अधिकारी मधुसुदन बुर्लाकोटीले बताए ।
काठमाडौबाट हेलिकोप्टर आउँदै गरेको उनले जानकारी दिए । दाङमा डोरीबाट उद्धार गर्ने तालिम प्राप्त प्रहरी नभएका कारण बाँकेको शमशेरगञ्जबाट तालिम प्राप्त प्रहरी पनि मगाइएको उनले बताए ।
सशस्त्र, जनपद प्रहरी र नेपाली सेनाको टोलीले अन्य प्रभावितहरूको उद्धार जारी राखेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विपिनकुमार कर्माचार्यले बताए । राप्ती नदीमा बाढी आएपछि सिसहनिया, लालमटिया, सोनपुर, गोबरडिहा, चैलाही, गढवा, बेला, राजपुर र गंगापरस्पुर गविसका दर्जनौ गाउँ डुबानमा परेका छन् । चारैतिर बाढी पसेपछि केही मानिस रूखमा चढिरहेको र केही बीचमै अलपत्र परिरहेको प्रहरीले जानकारी दिएको छ ।
बाढीबाट गोबरडिहा वडा नं. २ को मलमला, लालमटियाको वडा नं. २ स्थित खुरुरे, सिसहनियाको वडा नं. ९ मजेरिया र सोनपुरको केरुनिया गाउँका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । यसअघि साउन ४ गते आएको बाढीले सिसहनिया, सोनपुर र लालमटियाका २३ गाउँ डुबानमा पर्दा २ हजार बढी घरहरु डुबानमा परेका थिए ।
रातभर आएको पानीका कारण जिल्लाका सबै खोलामा बाढी आइरहेको छ । बाढीका कारण लमही-तुलसीपुर सडकखण्डमा गाडी चल्न सकेका छैनन् ।