धादिङ – अर्घाखाँची डट्कमलाई प्राप्त समाचार अनुसार बुटवलबाट काठमाडौं आउँदै गरेको बस धादिङको भूमेस्थान गाउँ विकास समिति बडा नम्बर ६ सिम्ले नजिक कमेरेडाँडाबाट महेशखोलामा खस्दा ११ जनाको मृत्यु भएको छ । १० जनाको घटनास्थलमा र १ जनाको उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।
समाचार अनुसार घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । मृतकमध्ये कपिलवस्तुका बलिराम चौधरी, रुपन्देहीका मोहन नगरकोटी, फडेन्द्र सुवेदी, गुल्मीका पार्वती घर्ती, बुटवल नगरपालिका ३ का सुशील घर्तीमगर, बुटवल बस्ने रञ्जन थापा र शेरबहादुर थापाको मात्र सनाखत भएको छ । अरुको सनाखत हुन सकेको छैन । मृतकमध्ये ९ पुरुष र २ महिला छन् ।
यसैगरी गम्भीर घाइतेलाई काठमाडौं ल्याइएको छ । बुटवलबाट ४० यात्रु बोकेर काठमाडौं आएको उक्त बसमा बीच बाटोमा अरु यात्रु पनि चढेको हुनसक्ने प्रहरीले अनुमान छ । बस सडकबाट ५० मिटर तल खोलामा खसेको थियो । सिधाबाटोबाटै बस खसेको हुँदा चालक निदाएर उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । चालकको पहिचान हुन सकेको छैन ।