ललितपुर – राजनीतिक दलका शीर्ष नेताहरुले सहमतिका लागि आ-आफ्ना सर्त अगाडि सारेका छन्। नेकपा-माओवादीले सानेपामा आयोजना गरेको राष्ट्रिय राजनीतिक अन्तर्क्रिया कार्यक्रममा दलका नेताहरुले सहमतिका लागि आ-आफ्ना अडान प्रस्तुत गरेका हुन्।
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सहमतिको विकल्प नभएको भन्दै संविधानसभाको पुनःस्थापनाबाट नै सहमतिका प्रयास गर्नुपर्ने बताए।
उनले संविधानसभाको विघटन हुनुमा नेपाली काँग्रेस र नेकपा (एमाले) दोषी रहेको उल्लेख गर्दै जातीय पहिचानसहित सङ्घीयताको पक्षमा ती दल आउनुको विकल्प नरहेको उल्लेख गरे। उनले संविधान पुनःस्थापनामा सहमति नभएको अवस्थामा सरकारको नेतृत्व काँग्रेसले नपाउने प्रष्ट पारे।
अध्यक्ष दाहालले भने,”संविधानसभा पुनःस्थापना भएको खण्डमा यसअघि दलहरुबीच भएको पाँचबुँदे सहमतिअनुरुप सरकारको नेतृत्व काँग्रेसले गर्न सक्छ तर चुनावमा जाने स्थितिमा जुनसुकै दल वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न सकिन्छ।”
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले सहमतिको विकल्प नभएको भन्दै सहमतिका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्ने धारणा अघि सारे। उनले अहिले दलहरुबीच अविश्वासको अवस्था चुलिँदै गएको बताउँदै सबैभन्दा पहिले विश्वासको वातावरण बनाउनेतर्फ दलहरु अगाडि सर्नुपर्ने बताए।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरुबीच यसअघि भएका सहमतिका बीचबाटै नयाँ सहमति खोजिनुपर्ने बताए। उनले सत्तारुढ दलले सङ्घीयताको नाममा गठबन्धन बनाउनु राजनीतिक बेइमानी भएको बताउँदै यसले दलहरुबीचको अविश्वास अझै बढाउने धारणा राखे।
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले गोलमेच सभाबाट नयाँ राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै संसदीय निर्वाचनमा देशलाई लैजान खोजे मुलुक फेरि द्वन्द्वमा फस्ने उल्लेख गरे।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले विवादका विषयवस्तुलाई छोट्याउँ दलहरुले जतिसक्दो चाँडो सङ्क्रमणकाललाई अन्त्य गर्नुपर्ने बताए।
राप्रपा नेपालका अध्यक्ष पशुपतिशमशेर राणाले देश फेरि संविधानसभामा जाने हो भने अहिलेको जस्तो सङ्ख्यामा सभासद् बनाउन नहुने धारणा राखे।
कार्यक्रममा मधेसी जनअधिकार फोरमका राजेश्वर कायस्थ, फोरम गणतान्त्रिकका राजलाल यादव, नेकपा-माओवादीका अध्यक्ष मातृका यादवले दलहरु चाँडो सहमतिमा नपुग्ने हो भने देश मुठभेडमा जाने खतरा औंल्याएका थिए। रासस