पोखरा । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन सशक्त बन्दै गएको छ ।
सरकारले पोखरेलीहरुलाई वार्तामा आउन आह्वान गरेपनि काइते पारामा गरिएको वार्ताको आह्वान गर्ने सरकारसंग कुनै वार्ता नगर्ने भन्दै पोखरेलीहरुले थप दवाव मूलक कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रमुख दलका शीर्ष नेताहरुसहित सरकारले आफ्नो मागको सम्बोधन गरेमात्र आन्दोलन रोकिने सरोकार समितिले जनाएको छ ।
यता विमानस्थल निर्माणको लागि दवाव दिन पोखरा विमास्थल गेट अगाडी थालिएको रिले अनसन आज छैठौं दिनपनि जारी छ । स्थानीय कलाकारहरुले भजन, चुड्का लोकगीत गाएर अनसन स्थललाई तताएका छन् । आज पोखराका सम्पूर्ण सरकारी कर्मचारीहरुले पोसाकसहित विमानस्थल अगाडी प्रर्दशन गरेका छन् ।
पोखरावासीको आन्दोलनमा बिभिन्न पेशागत संघसंगठन र राजनीतिक पार्टीहरुले समेत एक्यवद्धता जनाएका छन् । विमानस्थल निर्माणका लागि ३८ वर्ष अघि पोखराको छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएपनि अहिलेसम्म विमानस्थल निर्माण हुन सकेको छैन ।
हिजो मात्रै पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि कार्यरत रहेका ठेकेदारहरुसंग एकीकृत माओवादीले पार्टीको कामको लागि भन्दै ५० लाख लिएको खुलासा भएको छ । यसैबीच भोलि पोखरेलीहरुले विमानस्थलको जग्गामा कुटो, कोदालोसहित गएर सांकेतिक रुपमा निर्माण कार्य थाल्ने भएका छन् ।
– RSS