आज बेपत्ता नागरिकको अन्तराष्ट्रिय दिवस मनाईदै

बेपत्ता पारिएका नागरिकको अन्तर्राष्ट्रिय दिवस आज । नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बेपत्ता पारिएहरुको अवस्था सार्वजनिक गर्न दवाव दिने उद्देश्यले आज दिनभर दवाव मुलक कार्यक्रम हुनेछन् । आज विहानै बिभिन्न मानवअधिकारवादी तथा द्वन्द्वपीडित संघसंस्थाको अगुवाईमा भृकुटीमण्डबाट प्रभातफेरि निकालिएको छ ।

सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका ब्यक्तिका आफन्तले राजनीतिक सहमति नभएको नाममा आफूहरुलाई राज्यले कानुनी उपचार र राहतबाट बञ्चित गराएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बेपत्ता खोजवीन र सत्य निरुपण तथा मेलमिलाप आयोग बन्न नसक्दा आफूहरुले कानुनी उपचार नपाएको र राज्यले बेपत्ता भएको स्वीकार गरेपनि राहत नदिएको पीडित परिवारको गुनासो छ ।
बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडितलाई राहत दिनको लागि बेपत्ता खोजवीन आयोग गठन गर्न दलहरुबीच २०६३ सालमै सहमति भएको थियो । तर अझै आयोग बन्न सकेको छैन ।

त्यसैलै बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर्न, जबर्जस्ती बेपत्ता पार्ने कामलाई फौजदारी कानुन अन्तर्गत राख्न, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बेपत्ता सम्बन्धी आयोग गठन गर्न, बेपत्ताको अवस्था पत्ता लगाउन तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिन माग गर्दै दवाव स्वरुप देशभर कार्यक्रम भईरहेको आयोजकले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्म एकहजार एकसय ६२ जना नागरिक बेपत्ता भएको राष्ट्रिय मानव अधिकार आयोगको तथ्याङ्कमा उल्लेख छ ।