माओवादीका १ हजार ३ सय ८८ जना लडाकु मात्रै नेपाली सेनामा समायोजनका लागि योग्य

काठमाडौं । माओवादीका १ हजार ३ सय ८८ जना लडाकु मात्रै नेपाली सेनामा समायोजनका लागि योग्य ठहरिएका छन् । समायोजनका लागि आवश्यक मापदण्ड पुरा गर्ने सिपाही तहका लडाकुको संख्या १ हजार ३ सय ८८ जना मात्रै तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यो संख्यामा अधिकृत तहका लागि योग्यता परिक्षणमा रहेका बढीमा ७५ जना लडाकु थपिन सक्नेछन् ।


अधिकृत तहका लागि भने मापदण्ड छनौट प्रक्रिया टुंगिएको छैन । अधिकृत तहका लागि ८५ जना लडाकु परीक्षामा सामेल भएकोमा सवै चरण पार गर्दा ७५ जना भन्दा बढी पुग्ने संभावना क्षीण रहेको बताइएको छ । सिपाही भर्तिको नतिजा प्रकाशित गर्दै सैनिक जनसंपर्क निर्देशनालयले यस्तो तथ्यांक दिएको हो ।


यसअघि सिपाही तहमा १ हजार ५ सय ४४ जनाले इच्छा व्यक्त गरेकोमा १ हजार ४ सय २ मात्रै जाँचमा सामेल भएका थिए । दलहरुबीच ६ हजार पांच सय लडाकुलाई सेनामा समायोजन गर्ने सहमति भएको थियो । तर समायोजन प्रक्रिया टुंगिदा सहमति भएको संख्याको पाँच भागको एक भाग मात्रै लडाकु योग्य ठहरिए ।


सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले भने भोलिदेखि नै अयोग्य ठहरिएकालाई रकम वितरणको प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । माओवादीले शान्ति प्रक्रियामा आएपछि झण्डै ३५ लडाकु शिविरमा राखेको थियो ।

 

– RSS