सिरियामा फ्रि सिरियन आर्मीको पकड क्षेत्रमा सरकारी सेनाले भीषण आक्रमण

सिरिया  । सिरियामा राष्ट्रपति बशार अल असादको शासन विरुद्ध संघर्षरत फ्रि सिरियन आर्मीको पकड क्षेत्रमा सरकारी सेनाले भीषण आक्रमण गरेको छ । उत्तरी सिरियाका इडिल्बी र एलेप्पो शहरका घना बस्तिमा भएको हवाई आक्रमणमा बीस भन्दा बढी मारिएका र कयौं घाईते भएका बीबीसीले जनाएको छ । सिरियामा १८ महिनादेखि भईरहेको संघर्षका क्रममा २८ हजार भन्दा बढी मानिस वेपत्ता भएको मानवअधिकारवादी संगठनहरुले दाबी गरेका छन् ।


सरकारी सेना र विद्रोही मिलिसिया दुवै पक्षले यति ठूलो संख्यामा मानिस वेपत्ता पारेको बताइएको छ । सिरियाको मानव अधिकारवादी संगठन सावास्याले भने वेपत्ता हुनेको संख्या यो भन्दा निकै बढी रहेको जनाएको छ ।

 


अनलाइन अधिकारवादी समुह अभाजले वेपत्ता हुनेहरु कोही पनि सुरक्षित नरहेको दाबी गरेको छ । सिरियाली सरकारका तर्फबाट भने यो तथ्यांक सम्बन्धमा कुनै प्रतिक्रिया नआएको जनाइएको छ । सिरियामा राष्ट्रपति असादको शासन विरुद्धको संघर्षमा हालसम्म ३० हजार मानिस मारिईसकेका छन् भने १ लाख ७० हजार भन्दा बढी मानिस छिमेकी मुलुकमा पलायन भएको राष्ट्रसंघले जनाएको छ । २५ लाख मानिस आन्तरिक रुपमा विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ ।

 

– Agencies