काठमाडौं । एकीकृत माओवादी र नेकपा एमालेले नेपाली कांग्रेसलाई सहमतीय सरकारको प्रधानमन्त्रीको उम्मेदवार दिन आग्रह गरेका छन् । नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा आज साँझ बसेको बैठकमा एमाओवादी र एमालेले यस्तो आग्रह गरेका हुन् । कांग्रेसले भोलि पार्टीको वैठक डाकेर उम्मेदवार निर्णय लिने बताएको जनाइएको छ ।
आजको वैठकमा २ दिनभित्रै निर्वाचन, संवैधानिक निकायहरुमा नियुक्ति लगायतका विषयमा प्याकेजमै सहमति गर्नेगरी छलफल अघि बढेको नेताहरुले बैठकपछि बताएका छन् ।
राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार गठनका लागि दोस्रो पटक दिएको ७ दिनको समय सकिन २ दिन बाँकी रहँदा पनि दलहरुबीच सहमतिको कुनै गुञ्जायस देखिएको छैन । हरेक वैठकमा भाका तोक्ने बाहेक अरु कुनै प्रगति हुन सकेको छैन ।
– RSS