एकीकृत माओवादीका पुष्पकमल दाहालद्धारा प्रधानमन्त्रीको लागि मधेसी दलबाट महन्थ ठाकुरलाई प्रस्ताव

काठमाडौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी दलबाट प्रधानमन्त्री बनाए सहमति गर्न सकिने प्रस्ताव गरेका छन् । उनले कांग्रेस र एमालेका नेताहरुसंगको अनौपचारिक वार्तामा मधेसी दलबाट प्रधानमन्त्री बनाएर सहमतीय सरकार निर्माणका लागि जोड दिएका छन् ।


शनिबार बिहान एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्ण सिटौलासंगको छलफलमा दाहालले कांग्रेसको नेतृत्व स्विकार्य नहुने भन्दै बाबुराम भट्टराई हट्नै परे मधेसी दलबाट इमानदार मानिएका नेताको नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेका हुन् । दाहालले मधेसी नेताको नाम नभनेपनि उनको संकेत तमलोपा अध्यक्ष महन्थ ठाकुरको लागि थियो ।


राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि थपेको तेस्रो पटकको म्याद भित्र सहमति जुटाउन नेताहरुले औपचारिकसंगै अनौपचारिक वार्तालाई पनि तिव्रता दिएका छन् । ललितपुरको बालकुमारीमा एमालेका पूर्व सांसद कृष्णलाल महर्जनको घरमा दाहाल, नेपाल र सिटौलाबीच अनौपचारिक छलफल भएको हो । नेपाल र सिटौलालले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै दाहालको प्रस्ताव अस्विकार गरेको स्रोतले जनाएको छ । बिहान ७ बजेदेखि सवा ८ सम्म नेताहरुबीच छलफल भएको थियो । नेताहरुबीच कुनै सहमति भने हुन सकेन ।पूर्व सभासद महर्जनले नेताहरुको छलफल आफ्नो घरमा भएको पुष्टी गरेका छन् ।


स्रोतका अनुसार नेपाल मर्निङ वाकमै, सिटौला आफ्नो गाडीमा सुरक्षाकर्मी पनि नलिइकन र दाहाल सुरक्षाकर्मीको स्कर्टिङ नलिइ महर्जन निवास पुगेका थिए ।

 

– ekantipur