निगमलाई नाफा गर्न भन्दै सरकार द्वारा खाना पकाउने एलपी ग्यासको मूल्य ६ सय ३० रुपैयाँ बढायो

घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै सिलिण्डर व्यवहारिक रुपमा कार्यान्वयन नहुँदै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले ग्यासको मूल्य प्रति सिलिण्डर ६ सय ३० रुपैयाँ बढाएर २ हजार १ सय पुर्‍याउने निर्णय गरेको हो । मूल्यबृद्धिपछि व्यावसायिक प्रयोजनका लागि एक सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय रुपैयाँ पुगेको छ । घरायसी प्रयोगकर्ताहरुलाई भने सरकारले एक परिवारलाई एक महिनामा एक सिलिण्डर ग्यासमा ५ सय ५० रुपैयाँ अनुदान दिनेछ ।
कसरी पाउँछन् अनुदान ?
निगमका अनुसार उपभोक्ता कार्ड र ग्यास खरिद गर्दाको विल ६० दिन भित्र पेश गरेपछि बैंकबाट ५ सय ५० रुपैयाँ नगद नै फिर्ता पाइन्छ । पैसा फिर्ताका लागि हाल बैंक अफ काठमाडौंलाई तोकिएको छ । तर, निगमका एक अधिकारीका अनुसार न दुई रंगको सिलिण्डर बजारमा छ, न त उपभोक्ता कार्ड नै वितरण भइसकेको छ । ५५ मध्ये ४४ बटा उद्योगले अझैसम्म दुई रंगको सिलिण्डर बजारमा ल्याएका छैनन । यस्तै राजधानीका अधिकांश उपभोक्ताले ग्यास उपभोक्ता कार्ड पाउन सकेका छैनन् ।