आफूहरुलाई ‘प्रयोग गरेको’ निष्कर्ष निकाल्दै साना दलले सत्ता गठबन्धनसँग सम्बन्ध तोड्ने

सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनबाट साना दलहरुले सम्वन्ध विच्छेद गर्ने तयारी गरेका छन्। जनता दल केन्द्रिय कार्यालयमा बसेको साना दलहरूको बैठकले माओवादीले आफूहरुलाई ‘प्रयोग गरेको’ निष्कर्ष निकाल्दै गठबन्धनसँग सम्बन्ध तोड्ने निर्णयमा पुगेका हुन्।
‘प्रधानन्यायधीसलाई प्रधानमन्त्री बनाउने माओवादी प्रस्ताव लोकतान्त्रिक ब्यवस्थाविरुद्ध भएको हाम्रो ठहर छ, त्यसलाई हामी कदापी मान्दैनौं’, सहभागी एक नेताले भने, ‘राजनीतिक दललाई जसरी असफल भएको भन्ने देखाउने माओवादी कोशिश गरेको छ, त्यो निकै प्रत्युत्पादक हुने निष्कर्षमा हामी पुगेका छौं।’
संघीयता पक्षधरको नाममा मोर्चाबन्दी गरेर लोकतन्त्रविरुद्ध प्रहार हुन थाले पछि गठबन्धनमा बसिरहनु औचित्य नभएको निष्कर्ष पनि सो वैठकले निकालेको छ। अर्का नेताका अनुसार ७ दलको वैठकले गठबन्धन छोडने मनस्थिति बनाए पनि त्यसको औपचारिक निर्णय भने शनिवारको वैठकले गर्नेछ।
‘विपक्षीलाई तर्साउनका लागि हाम्रो काँधमा राखेर माओवादीले बन्दुक हान्ने मात्र काम गर्‍यो’ अर्का नेताले भने, ‘त्यसकारण काँध थाप्ने काम मात्र हामी गर्दैनौं, नयाँ एजेन्डा लिएर जनता कहाँ जान्छौ।’ त्यसका लागि भोलीवाट अन्य साना दलसँग वार्ता र छलफल गरिने उनीहरुको भनाइ छ।