भारतीय माझीको हत्या आरोप लागेका आफना दुई सैनिकलाई भारत फर्काउने इटली सरकारको निर्णयप्रति असुन्तुष्ट विदेशमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
भारतमा रहेका उनीहरुलाई देश ल्याइसकेका अवस्थामा फेरि त्यही सुपर्दगी गर्नु भारतको चाकडी हो भन्दै विदेशमन्त्री जी टेर्जीले राजीनामा दिएका हुन् । भारतीय माझीलाई सामुद्रिक लुटेरा सम्झी हत्या गरेको बयान दिएका ती सैनिकमाथि भारतमा मानसिक र शारिरीक यातना हुनसक्ने टेर्जीको आशंका छ । ती सैनिकलाई भारत फर्काएर इटली सरकारले गल्ती गरेको टेर्जीको भनाइ छ ।
गस्तीमा रहँदा दुई भारतीय माझीको गोली हानी हत्या गरेको अभियोगमा भारतीय हिरासतमा रहेका ती सैनिकलाई इटलीमा हालैसम्पन्न चुनावमा भाग लिन इटली पठाइएको थियो । चुनावलगत्तै भारत फर्काउने शर्तमा लगिएका ती सैनिकलाई शुरुमा इटलीले फर्काउन आनाकानी गरेको थियो । तर यसले दुई देशबीचको सम्बन्धमै खलल पुग्ने भएपछि इटलीले ती सैनिकलाई भारत पठाएको हो ।
agencies