विराटनगर – पूर्व सभासद सदरुल मियाँ हक हत्याको अभियोगमा उनकी छोरीसहित तीनजना पक्राउ परेका छन्। प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा उनकी छोरी रोजिता र अन्य दुई सहयोगीलाई बिहीबार बेलुका पक्राउ गरेको हो।
अनुसन्धान स्रोतका अनुसार दुई महिनाअघि भारत सुकोलामा रोजिताको विवाह पक्का भएको थियो। सँगै पढ्ने एक युवकसँग प्रेम सम्बन्ध रहेकाले बुबाले बनाएको विवाह योजना असफल बनाउन हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ।
पक्राउ परेकामा अब्दुल राउफ रहेको पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पर्शुराम खत्रीले बताए ।
हत्या प्रकरणका सम्बन्धमा बुझ्न सप्तरीमा रहेका खत्रीले पक्राउ परेकाहरुलाई आज म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट पुगेको टोलीले हिजो सप्तरीको एक गाउँबाट राउफ र हत्या गरिएका मियाँकै छोरी रबेदालाई समेत पक्राउ गरेको हो ।
रबेदा र राउफबीच लामो समयदेखि निकटको सम्बन्ध रहेको खुलेको प्रहरी टोलीले जनाएको छ । हत्यामा संलग्न व्यक्तिसँगको सम्बन्धका आधारमा प्रहरीले पूर्वसभासद मियाँको हत्यामा पारिवारिक संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ ।
हत्यामा संलग्न भनी प्रहरीले खोजी गरिरहेका अन्य केही व्यक्ति भारततिर लुकेर बसेको प्रहरी स्रोतले बताएको छ । ५२ वर्षीय पूर्वसभासद् हकको गत जेठ ७ गते धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
उनको हत्यामा राजनीतिक र आर्थिक कारण रहेको विगतमा अनुमान गरिए पनि हत्यामा परिवारकै
समेत संलग्नता रहेको प्रहरीले पत्ता लगाएपछि घटनाले नयाँ मोड लिएको छ । पूर्वसभासद् हक पछिल्लो समय पेट्रोलियम, काठ तथा इँटा व्यवसायमा संलग्न थिए । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनी सप्तरी-५ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा बिजयी बनेका थिए ।
RSS