– प्रेम आचार्य
अड्गुरी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छैठौं खुल्ला दिसामुक्त गाउँ विकास समिति अड्गुरी । आफ्नो गाउँ विकास समिति खुल्ला दिसामुक्त भएको अवसरमा अड्गुरीबासीले ६ अंकको जोर मिलाए । शुक्रबार अर्थात् छैठौं बार, ६ जना अतिथिहरुले ६ वटा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन । ६ वर्षका ६ थरका बालबालिकाले ६ किलो साबुनको ६ वटा माला तयार गरी अतिथिहरुलाई लगाइदिए ।
प्रत्येक साबुनमा स्वास्थ्य र सरसफाइसम्बन्धी विभिन्न जानकारी लेखिएका कार्डहरु टाँसिएको थियो ।
आफ्नो गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि आएका अतिथिहरुलाई स्वागत गर्नका लागि ६ वटा ब्यानर टाँगे । दिउँसो १ बजेर ६ मिनेट जाँदा थालनी भएको सो कार्यक्रममा गाउँ विकास समितिका सबै वडाबाट आएका स्थानीय बासिन्दा पञ्चैबाजाको तालमा खुशीले छमछमी नाचे ।
घोषणा सभाका वक्ताहरुले अड्गुरीलाई सरसफाइमा नमूना बनोस् भन्ने शुभकामना दिन चुकेनन् । सरसफाइ अभियानपूर्व लिइएको आधाररेखा सर्वेक्षण अनुसार अड्गुरी गाउँ विकास समितिका ९ सय ४० घरधूरीमध्ये ४ सय ८३ घरमा मात्र सुरक्षित चर्पीको पहुँच थियो । ३७८ घरधूरीले असुरक्षित चर्पीको प्रयोग गरिरहेका थिए भने ७९ घरधूरीले खुल्ला स्थानमा दिसा गर्ने गरेका थिए । अभियानका क्रममा ९ महिनाको अवधिमा अड्गुरी गाउँ विकास समितिभित्र ४ सय ५७ नयाँ शौचालयको निर्माण भए, जुन सबै स्थानीय बासिन्दाको आफ्नै लगानीमा, विना अनुदान, समुदायकै अगुवाइमा निर्माण भएको जानकारी गाउँ विकास समितिस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।