काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आजदेखि काम थालेको छ । सार्वजनिक सूचना जारी गरेर सुझाव संकलन गरिरहेको आयोगले नयाँबानेश्वरस्थित संविधानसभा भवनमा विभिन्न दलका नेताहरुसँग आज छलफल गरेको हो । आयोगसँगको छलफलमा सहभागी दलहरुमध्ये मधेशी दलका नेताहरुले तराईमा ब्यापक जनसंख्या थपिएको भन्दै तराईका जिल्लाहरुमा क्षेत्र थप्न माग गरेका थिए ।
एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरुले भने क्षेत्र निर्धारण गर्दा भूगोललाई पनि ध्यानमा राख्नुपर्ने सुझाव दिएका बैठकपछि नेताहरुले जानकारी दिए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले निर्वाचन क्षेत्र निर्धारण गर्दा दलहरुको पकेट क्षेत्र मिलाएर मतदाता एकै ठाउँमा थुपार्ने खतराबाट आयोग मुक्त हुन सुझाव दिएको जानकारी दिए ।
छलफलमा सहभागी केही दलहरुले भने पछिल्लो चरणमा तराईका जिल्लामा बढ्दो असुरक्षाका कारण जनसंख्या घट्दै गएकोतर्पm आयोगको ध्यानाकर्षण गराएका थिए । आयोगका अध्यक्ष ताहिर अलि अन्सारीले आयोगले सबै पक्षको सुझाव लिने तर कसैको दवाब र प्रभावमा नपरी जतिसक्दो विवादरहित तरिकाले क्षेत्र निर्धारण गर्ने बताए ।
मुलुकभर २ सय ४० भन्दा बढी क्षेत्र नहुने गरी क्षेत्र निर्धारण गर्ने अधिकार आयोगलाई रहेको छ । देशका सप्तरी, सिराहा, महोत्तरी, सर्लाही लगायतका ३५ वटा निर्वाचन क्षेत्रमा घटबढ हुने आयोगले जनाएको छ ।