अर्घाखाँचीमा लक्षित वर्गको रकम दुरुपयोग

वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची । लक्षित वर्गको बजेट पारदर्शी छैन । गाउँ परिषदमा बजेट पारित भएको बजेट अर्को तिर खर्च भएको छ । यसबाट लक्षित समुदाय योजना सञ्चालन गर्नबाट वञ्चित छन ।

 



गाविस सञ्चालन तथा अनुदान कार्यविधी अनुसार बजेट छुटाईएपनि गाविस सचिव र राजनीतिक दलका नेताको संलग्नतामा त्यसको विपरित काम भएको छ । राजनीतिक दल र गाविस सचिवको मिलेमतोमा  लक्षित वर्गका समुदायलाई जानकारी नदिई मनोमानी ढंगले काम गर्दा रकम दुरुपयोग हुने गरेको सरोकारवालाको आरोप छ ।   गाविस सचिव र राजनीतिक दलका नेताले  भौतिक र अन्य योजनामा खर्च गर्नुपर्ने दवाव दिएको लक्षित समुदायका अगुवाहरुले आरोप लगाएका छन । लक्षित वर्गको पुरै रकम विजुली, खानेपानी, मठ मन्दिर निर्माण, सडक विस्तार लगायतका काममा खर्च गरिएको छ । आर्थिक वर्ष ०६८-०६९ मा जिल्लाका पाँच गाविसमा महिलाको १० प्रतिशत, बालवालिका १० प्रतिशत र समावेशीतर्फको १५ प्रतिशत गाउँ परिषदबाटै छुटिएको बजेट वास्तविक लक्षित समुदायले पाउन सकेका छैनन् ।


जिल्लाका धनचौर, वागी, अडगुर, मैदान र पटौटी गाविसमा स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा लुम्बिनी सामाजिक विकास केन्द्रले गरेको सर्वेक्षण पछि बहस कार्यक्रममा लक्षित वर्गका अगुवाहरुले आफुहरु ठगिएको गुनासो गरे । पटौटीमा महिलाको लागि छुटिएको ८३ लाख रुपैया मध्ये ६८ लाख राजनीतिक दलको दवावमा विद्युतीकरणमा खर्च भएको छ । महिलालाई विजुली चाहिदैन र भनेर दलले भनेपछि पैसा दियौ, सिता भटराईले भनिन, केही काम गर्न पाईएन । समावेशी तर्फ, दलित, जनजाती, जेष्ठ नागरिक एकल महिलाको बजेट पनि विद्युत विस्तारमै खर्च भएको छ ।


मैदान गाविसमा बालवालिको ४९ हजार २ सय मध्ये सात हजार रुपैया हाजिर जवाफमा खर्च गरेको देखाईएपछि अरु रकम कहाँ खर्च गरियो रेकर्ड नभएको स्थानीय टीकाराम बेल्वासेले बताए । जनजातीलाई छुटिएको पुरै बजेट मोटबाटोमा खर्च भएको छ । त्यस्तै धनचौर गाविसमा भएको सार्वजनिक बहस कार्यक्रममा समावेशी तर्फको २ लाख ४२ हजार रुपैया  स्थानीयले मन्दिर, खानेपानी, टयांकी निर्माण र सडकमा खर्च गरेका छन । अडगुरीमा महिलालाई छुटिएको १ लाख ६२ हजार राजनीतिक भागवण्डमा सहकारीमा राखेको पाईयो । वागीमा दलित वर्गको रकम खर्च नै भएको छैन ।

 


 

विकास निर्माणका काम गर्न त बजेट छदैछन तर लक्षित समुदायको उत्थानको लागि विनियोजित बजेट दलका नेताले दवाव दिएर अन्यत्रै खर्च गर्नु बाध्यता भएको मैदानका लक्ष्मण शारुले बताए । पाँच वटै गाविसमा भएको बहस कार्यक्रममा राजनीतिक दलले आगमी वर्षदेखी लक्षित वर्गको बजेट अन्यत्र खर्च नगर्ने, गाउँ परिषद गर्दा महिला, दलित, जनजाती सबैलाई प्रतिनिधित्व गराउने र योजनामा छुटिएको रकम र खर्च भएको तथ्यांक गाविसको सुचना पाटीमा टासी सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन ।

 

लक्षित वर्ग अन्तरगतको कार्यक्रममा अहिले कमजोरी भएपनि आगामी वर्षदेखी सुधार्ने पाँचै गाविस सचिवले प्रतिवद्धता जनाएका छन । लक्षित समुदायमा चेतनाको अभावले छुटिएको बजेट योजना बनाई खर्च गर्न नसक्नु र स्थानीय राजनीतिक दलका नेताले लक्षित वर्गका समुदायका आफना कार्यकर्तालाई स्पष्ट जानकारी नदिई अन्यत्र खर्च गर्ने गरिएको केन्द्रका कार्यक्रम संयोजक सुरज शारुले बताए । उनले गाविसले छुटिएको रकमको योजना र कार्यक्रमको अनुगमन नगरीकनै गाविस सचिवले रकम भुक्तानी गर्दा बजेट एकातिर काम अर्को तिर भई दुरुपयोग हुने गरेको उनले बताए । आगामी दिनमा सुधारका लागि यो कार्यक्रम गरिएको उनले बताए । जिविसका योजना तथा प्रशासकीय अधिकृत ध्रुव गिरीले लक्षित वर्गको बजेटको प्रभावकारी काम हुन नसकेको बताए । उनले जिल्लाका सबै गाविसमा अनुगमन तथा सर्वेक्षण गर्ने काम भैरहेको बताउदै लक्षित समुदायको रकम खर्च र कार्यक्रम सन्तोषजनक हुन नसकेको बताए ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु