इजरायल र प्यालेस्टायन फेरि शान्ति वार्तामा बस्न राजी भएका छन् । दुई पक्षबीच शान्ति वार्ताका लागि सम्झौता भएको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले दुबै पक्षसँग भेटवार्ता गरेपछि शान्ति वार्ता फेरि शुरु गर्न दुबै पक्षबीच जोर्डनमा सहमति बनेको हो । वार्ताका बारेमा विस्तृत विवरण नदिइए पनि आउने साता अमेरिकाको वासिंगटनबाटै वार्ता थालिने छ ।
दुई पक्षबीच पछिल्लो वार्ता तीन वर्ष पहिले भएको थियो । तर पश्चिमी किनारा र जेरुशेलममा इजरायली वस्ती विस्तारको घटनाले वार्ता बिथोलिएको थियो । जोर्डनको राजधानी अम्मानमा पत्रकारहरुसँग अमेरिकी विदेश मन्त्री केरीले दुबै पक्ष वार्तामा बस्न राजी हु्नु्लाई महत्वपूर्ण कदम भन्दै सबैले स्वागत गर्नुपर्ने बताए ।
दुई पक्षमा वर्षौदेखि रहेको तिक्तता अन्त्य गर्नु त्यति सहज नरहेको र आगामी दिन झन् चुनौतिपूर्ण हुने उनको भनाइ थियो । वाशिंगटनमा हुने वार्तामा प्यालेष्टाइनका तर्फबाट मूख्य वार्ताकार साएब एरेकात तथा इजरायलका तर्फबाट ट्जिपी लिवनी सहभागि हुनेछन् । यसअघि हिजै केरीले प्यालेष्टायनी राष्ट्रपति महम्मूद अब्बाससँग भेटवार्ता गरेका थिए ।