कावुल- अफगानिस्तानको पूर्वी प्रान्त नगरहारको राजधानी जलालाबादस्थित भारतीय वाणिज्य दूतावासमा आत्मघाती हमला भएको छ। प्रहरीका अनुसार स्थानीय समय अनुसार करीव १० बजे तीनजना मानिस एउटा कारमा आएर बम विष्फोट गराएका थिए।
विष्फोटपछि गोली चलेको आवाज सुनिएको बीबीसी हिन्दी अनलाइनले उल्लख गरेको छ। खबरका अनुसार विष्फोटमा केही मानिसको मृत्यु समेत भएको छ तर भारतीय अधिकारीहरुले आफ्ना नागरिक विष्फोटमा नपरेको बताएका छन् ।
विष्फोटक पदार्थले भरिएको एक कार दूतावास नजिकैको ब्यारियरमा लगेर ठोक्काइएपछि विष्फोट गराइएको बीबीसीले जनाएको छ। घटनामा १२ जना घाइते भएका छन् भने नजिकैको पसलमा समेत क्षति पुगेको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी नै छ।
सम्भावित खतराको महसुस गर्दै अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना दुतावास र वाणिज्य दुतावासहरु आइतबार बन्द गर्ने निर्देशन दिएको भोलिपल्ट नै भारतीय बाणिज्य दूतावासमा हमला भएको हो ।
Agencies