पूर्व प्रधानमन्त्री सिंहलाई राष्ट्रिय सम्मान नदिएकोमा आक्रोशित बनेका शुभेच्छुकहरुले आर्यघाटमा नाराबाजी गर्नुका साथै प्रहरीलाई सलामी दिनबाट रोक्न घाटलाई घेरा हालेका थिए । प्रहरी टोली फर्किएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।
त्यसपछि सिंहका छोराले दागबत्ति दिएर अन्त्येष्टी गरिएको थियो । राष्ट्रको प्रधानमन्त्रीको निधनमा पनि सम्मान दिन कञ्जुस्याईं गरिएको यो पहिलो पटक हो ।
कहिल्यै राज्यको पदमा नपुगेका र २०४२ सालमा १४ जना निर्दोष नागरिकको ज्यान जानेगरी बम विष्फोट गराएका रामराजाप्रसाद सिंहको निधन हुँदा गतवर्ष बाबुराम भट्टराईको सरकारले सैनिक सलामीसहित राजकीय सम्मान दिएको थियो ।
लामो समयदेखि फोक्सो क्यान्सरबाट पीडित श्रेष्ठको.आज विहान तीन बजे नर्भिक अस्पतालमा निधन भएको थियो । फोक्सोको क्यान्सरबाट पीडित बनेका सिंहलाई उपचारका लागिा भारत नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि स्वदेशमै प्राण त्याग्ने उनको इच्छा अनुसार परिवारजनले गत मंगलबार नेपाल फर्काएर नर्भिक अस्पतालमा भर्ना गरेका थिए ।
निधनपछि सिंहको पार्थिव शरीरलाई श्रद्धान्जलिका लागि धापासीस्थित निवासमा राखिएकोमा विभिन्न राजनीतिक दलका नेताहरु श्रद्धान्जलि व्यक्त गर्न गएका थिए । श्रद्धाञ्जलि दिन गएका दलका नेताहरुले सिंहलाई राष्ट्रवादी व्यक्तित्वको संज्ञा दिदै देशले ईमानदार राजनीतिज्ञ गुमाएको बताएका थिए ।
सिंहलाई श्रद्धाञ्जलि दिन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरु पुगेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सिंह श्रेष्ठप्रति श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
२०४३ सालमा पञ्चायती व्यवस्था अन्तर्गत सिंह प्रधानमन्त्री बनेका थिए । मध्यपश्चिमको विकट पहाडी जिल्ला सल्यानमा जन्मिएका श्रेष्ठ प्रखर राष्टबादी व्यक्तित्व रुपमा समेत चिनिन्थे ।
२०४५ सालमा भारतले नेपालविरुद्ध नाकाबन्दी गरेपछि जनजीवन अस्तव्यस्त हुन नदिन सिंहले थाइल्याण्ड र चीनबाट हवाईजहाज मार्फत पेट्रोलिय पदार्थ समेत अपूर्ति गरेका थिए । २०४६ सालमा पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन उत्कर्षमा पुगेपछि दरबारले उनलाई पदबाट हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएको थियो ।