नेपाली कांग्रेसले संविधानसभा निर्वाचनका लागि सबै जिल्लामा उम्मेदवारको नाम माग, भाद्र २० गते अगावै केन्द्रमा पेश गर्न निर्देशन


बालकृष्ण अधिकारी, नागरिकन्युज

 

काठमाडौं  – नेपाली कांग्रेसले संविधानसभा निर्वाचनका लागि उम्मेदवारको नाम मागेको छ। पार्टी पदाधिकारीहरुको शनिबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचनका लागि उम्मेदवारीको नाम सिफारिश गर्न पार्टीका सबै निकायलाई आह्वान गरेको छ। बैठकले पार्टीका सबै निकायलाई भदौ २० गते भित्र नाम सिफारीस गर्न आह्वान गरेको छ।

‘जिल्ला, क्षेत्र, नगर, नगर वडा, गाउँ, गाउँ वडा तथा मतदान केन्द्र समितिहरुका पदाधिकारीहरुको नामावली २०७० भाद्र २० गते अगावै केन्द्रमा पेश गर्नका लागि सबै जिल्लालाई निर्देशन गर्ने,’ बैठकपछि जारी मुख्य सचिव चिनकाजी श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।


केन्द्रीय कार्यालयले सबै जिल्ला समितिलाई उम्मेदवारको नाम तथा राय केन्द्रीय कार्यालयमा पठाउन समेत पत्राचार गर्ने भएको छ।


बैठकले संविधानसभा निर्वाचनको तयारीका लागि आर्थिक संकलन र घोषणापत्र निर्माण समिति गठन गरेको छ।
कांग्रेस सभापति सुशील कोइरालाको संयोजकत्वमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, कोषाध्यक्ष चित्रलेखा यादववका साथै केन्द्रीय सदस्यहरु रामकृष्ण ताम्राकार, रामशरण महत र दीपकुमार उपाध्याय सदस्यको सात सदसीय समिति गठन गरेको छ। ‘संविधानसभा निर्वाचनमा चाहिने खर्च जुटाउनका लागि कांग्रेसलाई आवश्यक कोष निर्माण गर्न निम्न प्रकार निर्वाचन कोष निर्माण समिति गठन गरिएको छ,’ विज्ञप्तिमा छ।


त्यस्तै, बैठकले उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा १५ सदसीय घोषणापत्र निर्माण समिति गठन गरेको छ। समितिमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्रीहरु के.बी. गुरुङ, विमलेन्द्र निधिका साथै केन्द्रीय सदस्यहरु सहभागि छन्। घोषणापत्र तयारी समितिमा आवश्यकता अनुसार संयोजकलाई सदस्य थप गर्ने अधिकार पनि बैठकले दिएको छ।


त्रिवेणीमा सम्पन्न पार्टीको महासमिति बैठकको सुझावको आधारमा तयार गरेको राजनीतिक प्रतिवेदनलाई आधार बनाएर समितिले घोषणापत्र तयार गर्ने एक नेताले जानकारी दिए।
 
पाँच महिनापछि बैठक


कांग्रेस केन्द्रीय कार्यसमितिको पाँच महिनापछि शुक्रबार बस्ने भएको छ। बैठक नराखेकोमा केन्द्रीय सदस्यहरुले तीब्र असन्तुष्टी जनाइरहेका बेला शनिबार बसेको पदाधिकारी बैठकले शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ। बैठकमा संसदीय समिति, जिल्ला प्रतिनिधिको सुझाव प्रतिवेदन, महासमिति बैठकबाट आएका सुझावको आधारमा तयार गरेको राजनीतिक प्रतिवेदनका साथै आगमी निर्वाचनमा पार्टीले लिने रणनीतिका विषयमा छलफल हुनेछ।


कांग्रेस केन्द्रीय समितिको बैठक चैत २२ गतेपछि बसेको छैन। नवलपरासीको त्रिवेणीमा हुने महासमिति बैठकमा पेर गर्ने प्रतिवेदन पारित गर्ने २२ गते दिउँसो सुरु भएको बैठक २३गते बिहान २ सकिएको थियो।


उपसभापति पौडेलको संयोजकत्वमा गठन भएको समितिले तयार गरेको राजनीतिक प्रतिवेदन अध्ययनका लागि सबै केन्द्रीय सदस्यहरुलाई वितरण गरीएको छ।