गणेश राई, कान्तिपुर
काठमाडौं – निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनको सातदिन म्याद थपेपछि निर्वाचन कार्यालयमा भीड बढेको छ । पूर्व राजपरिवारका सदस्यसमेतले मतदाता नामावली दर्ता गराएका छन् ।
पूर्वअधिराजकुमार धीरेन्द्र शाहका छोरीहरू पूजाराज्यलक्ष्मीदेवी शाही, सीताष्माराज्लक्ष्मीदेवी शाही र दिलाशा राणा दम्पतीले मतदाता नामावलीमा दर्ता गराएका हुन् ।
मतदाता नामावली दर्ता गराउनेमा उच्चपदस्थ कर्मचारीसमेत छन् । आयोगले भदौ १ गतेदेखि ७ गतेसम्म म्याद जारी गरेपछि मतदाता नामावली दर्ता गराउनेको भीड बढेको हो । म्याद थपिएको पहिलो दिन शनिबार देशभरिमा करिब पाँचहजारले फोटोसहितको मतदाता नामावली दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले बताए ।
काठमाडौं निर्वाचन कार्यालयबाट २ हजार ५ सयजनाले दर्ता गराएको निर्वाचन अधिकारी शम्भुप्रसाद चालिसेले बताए । ‘सहभागिता उत्साहजनक छ,’ चालिसेले सित भने, ‘पूर्व राजपरिवारका सदस्य र उच्चपदस्थ कर्मचारीसमेतले नामावली दर्ता गराएका छन् ।’
काठमाडौं निर्वाचन कार्यालयले बिहान आठबजेदेखि बेलुका पाँचबजेसम्म फोटोसहितको मतदाता नामावली दर्ता गराएको प्रमुख चालिसेले बताए । त्यसनिम्ति २० वटा क्यामरा र ४० जनाभन्दा बढी कर्मचारी खटाइएको छ । सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिति रहेको छ ।
त्यसैगरी ललितपुरबाट करिब ४ सय जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएको निर्वाचन अधिकारी शान्ता मरासिनीले जनाइन् । ‘दर्ता गराउनेमा अधिकांश बाहिरी जिल्लाका छन्,’ ललितपुर दुर्गम पहाडी क्षेत्रमा अधिकांशले दर्ता गराएको उल्लेख गर्दै उनले भनिन्, ‘नगरभित्रै रहेका स्थानीय अझै छुटेको हुनसक्ने अनुमान गरेका छौं । भोलिदेखि अझ भीड बढ्न सक्छ ।’
त्यस्तै भक्तपुर निर्वाचन कार्यालयमा १ सय ३४ जनाले मात्र फोटोसहितको मतदाता नामावली दर्ता गराएको निर्वाचन अधिकारी चुरामणि पन्थीले जनाए । ‘आशा गरेभन्दा कमले फोटो खिचाउन आए,’ उनले भने, ‘जुनसुकै जिल्लाको भएपनि नागरिकताका आधारमा फोटोसहितको मतदाता नामवली दर्ता गराउन सकिने भएकोले भक्तपुरमा आएमा सहज ढंगले खिचाउन सक्छौं ।’
आयोगले राजनीतिक दलहरुको मागअनुसार आगामी मंसिर ४ मा हुने संविधान सभाको दोस्रो निर्वाचनका निम्ति थप म्याद जारी गरेको हो । गत असार मसान्तसम्म १८ वर्ष उमेर पुगेर नागरिकको प्रमाणपत्र प्राप्त व्यक्तिले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सक्छ । नागरिकताको आधारमा नामावली दर्ता गराएको निर्वाचन अधिकारीले जनाएका छन् ।
आयोगले यसअघि असार मसान्तसम्ममा १ करोड २३ लाख ८ हजार ३ सय १४ ले फोटो खिचाएका थिए । जनगणनाको पछिल्लो तथ्यांकअनुसार १८ वर्ष उमेर पुगेका बालिगहरुको संख्या १ करोड ६४ लाख ८७ हजार २ सय १३ रहेको छ । तीमध्ये ३० लाखजति विदेशमा रहेको अनुमान गरिएको छ । जसअनुसार करिब ११ लाख भन्दा बढीको मतदाता नामावली दर्ता हुन बाँकी छ ।