भक्तपुर । बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरिएको भक्तपुरमा आज चौथो दिन पनि कुखुरा मार्ने क्रम जारी छ ।
भक्तपुरमा मारिएका कुखुरा गाड्ने ठाउँको अभाव भएपछि ठाउँ ठाउँमा स्थानीयवासी र कुखुरा मार्ने टोलीका सदस्यहरुबीच विवाद भएको छ । कुखुरा मार्ने टोलीले चाँगुनारायण गाविस वडा नम्बर ३ मा खानेपानी मुहानसंगै तिलक विक्रम शाहीको जग्गामा कुखुरा गाडेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।
गएराती कुखुरा मार्ने टोलीले खानेपानी मुहान नजिकै कुखुरा गाडेको स्थानीयवासीको आरोप छ । मरेका कुखुरा गाडिएपछि स्थानियवासीले मुहानको पानी पीउन छाडेका छन् । भक्तपुरकै सल्लाघारीमा स्थानीयवासी जथाभावि कुखुरा गाडेको भन्दै विरोधमा उत्रिएका छन् ।
नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गामा जथाभावी कुखुरा गाडेको भन्दै स्थानीयवासी प्रदर्शनमा उत्रिएका हुन् । पशुसेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले भने कुखुरा गाड्नका लागि ठाउँको अभाव भएको बताएका छन् ।
RSS