विशेष अदालतले मागेको २ करोड ९० लाख धरौटी बुझाउन नसक्दा दीपक मनाङे डिल्लीबजार कारागार चलान

दिनेश गौतम, नागरिकन्युज 
काठमाडौं- विशेष अदालतले मागेको धरौटी बुझाउन नसक्दा राजीव गुरुङ(दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन्। 
अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले गुरुङसँग २ करोड ९० लाख धरौटी माग गरेको थियो। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको अदालतका उपसचिव केशव घिमिरेले बताए।
१४ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले मनाङेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनकी जेठी पत्नी पासाङ डोमा गुरुङलाई भने अदालतले २ लाख ५० हजार धरौटी मागेको थियो। उनी धरौटी बुझाएर रिहा भएकी छिन्।