आफ्नो ठूलो पार्टी बनेको अहंकारका कारण संविधान जारी हुन नसकेको स्वीकार गर्दै एमाओवादी पुष्पकमल दाहालद्धारा आत्मालोचना

जनकपुर – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गत संविधानसभामा ठूलो पार्टी बनेको अहंकार तथा बहुमतीय प्रयासका कारण संविधानसभाबाट संविधान जारी हुन नसकेको बताएका छन् ।
एक टेलिभिजनको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफ्नो पार्टी क्रान्तिबाट फर्केलगत्तैको विजयले विवेकभन्दा पनि आवेगमा आएर काम गरेको स्वीकार गरे । उनले भने, ‘हाम्रो सबभन्दा ठूलो गल्ती आवेगमा काम गर्नु थियो । हामी विवादित विषयमा मतदानमा गएको भए संघीय संविधान बन्थ्यो ।’
गत तीन दिनदेखि धनुषामै रहेका एमाओवादी अध्यक्ष प्रचण्ड आइतबार बरमझिया र सोमबार पूर्वी धनुषाको लगमा बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै कांग्रेस र एमालेले फलाकेको सहमतीय जालोमा परेर बहुमतीय प्रणालीमा जान नसकेको बताए ।
आगामी संविधानसभालाई अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचन हुन नसके विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुमेर जाने ठोकुवा गरे । उनले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताउँदै जनता, सरकार, निर्वाचन आयोग र प्रमुख दलहरू निर्वाचनको पक्षमा रहेको बताए । उनले भने, ‘अब कसैले चाहेर निर्वाचनको मिति सर्नेवाला छैन । निर्वाचन निर्धारित मितिमै हुन्छ ।’
कांग्रेस र एमालेलाई संघीयताविरोधीको आरोप लगाउँदै उनले आफ्नो पार्टीलाई स्पष्ट बहुमत तथा पहिचानसहितको संघीयतावादीलाई दुई तिहाइ बहुमत दिनुपर्ने अपिल गरे । – कान्तिपुर