अर्घाखाँचीमा एमाओवादी, कांग्रेस र एमालेबीच प्रतिष्प्रर्धा, एमाओवादी र राष्ट्रिय जनमोर्चाले उम्मेदवारको नाम सिफारिस गरे (पुरा विवरण सहित)

– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । गाउँ-गाउँमा पहिलो चुवानी अभियान सकिएपछि दलहरु उम्मेदवार छान्नमा व्यस्त छन । जिल्लामा एमाओवादी, कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धाको संभावनाले उम्मेदवार सहित भोट माग्न गाउँ जाने तयारीमा दलहरु लागेका छन । 
जिल्लामा चुनावी माहोल तात्दै जादा संभावित उम्मेदवारको चर्चा शुरु भएको छ । एमाओवादी र राष्ट्रिय जनमोर्चाले उम्मेदवारको नाम पाटीको केन्द्रिय कार्यालयमा सिफारिस गरेको छ । कांग्रेस र एमालेले छनोटको तयारी गर्दैछन । जिल्लाका दुवै क्षेत्रमा तीनै दलको प्रतिष्प्रर्धाको संभावनाले चुनाव जित्नेमा उम्मेदवारमा पनि भर पर्ने बुझाई छ । 
एमाओवादीले दुवै क्षेत्रबाट संभावित १२ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट पुर्वमन्त्री टोपबहादुर रायमाझी, डिलाराम आचार्य, राजु नेपाली, कमल खनाल, ठाकुर विक र वैकल्पिकमा छमकुमारी खनाल र क्षेत्र नं. २ मा केन्द्रिय सदस्य चन्द्र बहादुर खडका, विष्णुहरी शर्मा, गोविन्द केसी, हिमकला गैरे, खुमानन्द घिमिरे र वैकल्पिकमा भक्तबहादुर पुनलाई बैठकको निर्णयले सिफारिस गरेको एमाओवादी नेता ठाकुर विकले बताए । रायमाझी र खडकाको निश्चित जस्तै भएको एमाओवादी स्रोतको दावी छ ।  
जिल्लामा चौथो शक्ति राजमोले क्षेत्र नं. १ बाट महासचिव सन्तबहादुर नेपाली, केन्द्रिय सदस्य सागर केसी, कल्पना पोखरेल र २ बाट केन्द्रिय सदस्य शेरबहादुर विसी, जिल्ला अध्यक्ष झविलाल थापा, सकुन्तला रानालाई सिफारिस गरेको छ । 
एमाओवादी, एमाले र राजमोले चुनावी अभियान लिएर घरदैलो अभियान सम्पन्न गरेका छन भने सुस्त गतिमा चुनाव प्रचारमा लागेको कांग्रेसले उम्मेदवारको पर्खाईमा बसेको छ । उम्मेदवार छनोट भएपछि गाउँ जाने उसले जनाएको छ । कांग्रेस र एमालेका नेताहरु  टिकटका लागि काठमाडौ धाएका छन । कांग्रेसबाट क्षेत्र नं. १ मा डा.रामबहादुर विसी, विष्णु मुस्कान, निर्मला क्षेत्रीको नाम चर्चामा छ । २ बाट केन्द्रिय सदस्य पुष्पा भुसाल, पुर्वमन्त्री ढुण्डिराज शास्त्री, जिल्ला सभापति कमलप्रसाद भुसाल र बासुदेव आचार्यको नाम चर्चामा छ । विसीको र पुष्पाको निश्चित जस्तै भएको कांग्रेसका एक नेताले दावी गरे ।  एमालेबाट १ मा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, लक्ष्मण रायमाझी, भोजबहादुर शाहको र २ बाट डा. दुमन थापा, पुर्वजिल्ला अध्यक्ष रामजप्रिसाद घिमिरे र पिताम्बर भुसालको नाम चर्चामा छ । क्षेत्रीले आफनो र भुसालको उम्मेदवार निश्चित जस्तै भएको दावी गरे । निर्वाचन क्षेत्र नं. १ मा तीन दलबीच कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । चुनावी चाहलपहलसगै धेरैको ध्यान १ नम्बरमै छ । २०६४ को चुनावमा एमाओवादीका रायमाझी र काग्रेसबाट पुष्पा भुसालले जितेका थिए । 
बाबुराम भटराई निकट मानिने रायमाझीले जिल्लामा लुम्बिनी-सालझण्डी-ढोरपाटान सडक, सुर्खेत-पोखरा सडक देखि जिल्लामा कृषि, पर्यटन, पुर्वाधार विकास,सडक लगायत थुप्रै योजना जिल्लामा भित्राएकाले र एमाओवादीमा प्रवेश गर्नेको जनलहर भएकाले जित सुनिश्चित भएको नेता विकले दावी गरे । गाउँ अभियानपछि दुवै क्षेत्रमा जित्न सकिने एमाओवादी र एमालेको दावी छ  निर्वाचनमा अलि सुस्त देखिएको काग्रेसले पनि जित्ने दावी गरेको छ । हाम्रो चुनावी प्रतिष्प्रर्धा काग्रेससँग हो, एमाओवादी केन्द्रिय सदस्य चन्द्र बहादुर खडकाले भने, एमालेको जनाधार कमजोर छ त्यसमा पनि धेरै कार्यकर्ता हाम्रो पाटीमा आएका छन । एमाले अध्यक्ष चेतनारायण आचार्यले जनमतका हिसाबले एमाओवादी अर्घाखाँचीमा तेस्रो शक्ति हो, चुनावी प्रतिष्प्रर्धा काग्रेससगै हुने दावी गरे । उनले आफु उम्मेदवार नबन्ने बताए । १ मा रायमाझीलाई जित्न काग्रेसले डा. विसीलाई अगाडी सार्ने तयारीमा छ । एमाओवादी स्रोतका अनुसार काग्रेसबाट १ मा विसी र २ मा पुष्पा आएमा जित्न गाह्रो पर्ने र एमालेका उम्मेदवार कमजोरसँगै जनमत भत्किदै गएकाले सजिलै जित्न सकिने ठहर गरेको छ । 
२०६४ को चुनावमा १ बाट उम्मेदवार दिएका कांग्रेस केन्द्रिय सदस्य मानबहादुर विश्वकर्मालाई हराउन पुर्वमन्त्री रेवतीप्रसाद भुसाल लागेको आरोपले  काग्रेसमा नेताहरुबीच आन्तरिक द्धन्द्ध भएकाले जित्न सकिने एमाओवादीको ठहर गरेको छ ।
टोपबहादुर रायमाझीलाई शक्तिशाली र लोकप्रिय उम्मेदवारको रुपमा लिईएको छ । एमालेका क्षेत्रीले भने जनमतका हिसाबले काग्रेससँग प्रतिष्प्रर्धा हो तर टोपबहादुरसँग मात्रै होईन पुष्पकमल दाहाल आएपनि पार्टीले आफुलाई टिकट दिएमा जित्ने दावी गरे । कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसालले आफु प्रत्यक्षमै चुनाव लडने र टिकट पाउने दावी गर्दै २०६४ मा भन्दा यसपाली धेरै मत लिएर जित्ने दावी गरिन । अर्का केन्द्रिय सदस्य विकले १ बाटै प्रत्यक्षमा चुनाव लडने भन्दा पनि पार्टीले जहा खटाउछ त्यही जाने टेलिफोनमा बताए । 
चुनावमा राप्रपा, राप्रपा नेपाल लगायतका सानादल पनि तयारीमा लागेका छन । जिल्लामा मोहन वैद्य नेतृत्वको माओवादीले चुनाव बहिष्कारको कार्यक्रम लिएर गाउँ गएका छन । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु