केरीले सिरिया सरकारले रासायनिक हतियार प्रयोग गरेको ठोस प्रमाण अमेरिकासँग रहेको दाबी

वासिङटन  । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरिया सरकारले निर्दोष सर्वसाधरणमाथि रासायनिक हतियार प्रयोग गरेको ठोस प्रमाण अमेरिकासँग रहेको बताएका छन् । दमस्कस नजिकको क्षेत्रमा रासायनिक हतियार प्रयोग गरिएको सम्बन्धमा त्यहाँबाट बरामद गरिएका शबका रौ र रगत जाँचको रिपोर्टले यस्तो पुष्टि गरेको दाबी उनको छ । 
अमेरिकी राष्ट्रपति बाराक ओबामा संसदको स्वीकृति लिएर सिरियामा सैन्य हस्तक्षेप गर्ने तयारीमा हुनुहुन्छ । अमेरिकी संसदमा सिरियामाथि सैन्य कारवाहीबारे छलफल हुंदैछ । रुसले भने अमेरिकालाई सिरियामा रासायनिक हतियार प्रयोगको प्रमाण राष्ट्रसंघमा पेश गर्न चुनौती दिएको छ । 
गत अगष्ट २१ मा दमस्कस नजिकको क्षेत्रमा रासायनिक हतियारको आक्रमणबाट ४ सय २६ बालबालिकासहित १४ सय २९ जना मारिएको पर्याप्त प्रमाण रहेको अमेरिकी दाबी छ । तर रुस, चीन र अमेरिकाकै केही ब्यक्तिले भने आक्रमणले त्यस क्षेत्रमा विनाश निम्त्याउने भन्दै कडा विरोध जनाएका छन् ।
Agencies