भैरहवाको मेडिकल कलेज विवादका कारण अनिश्चितकालिन बन्द

भैरहवा  । भैरहवाको रानीगाउँमा रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्स शिक्षण अस्पतालमा विद्यार्थी र कलेज प्रशासनबीचको विवादका कारण अन्ततः कलेज नै बन्द गराइएको छ ।
६ दिनदेखि कलेजका सबै शैक्षिक क्रियाकलाप ठप्प रहेकोमा कलेज प्रशासनले अर्को सूचना नभएसम्मका लागि कलेज बन्द गरिदिएको छ । 
प्रशासनले २४ घण्टाभित्र होस्टेल खाली गर्न विद्यार्थीलाई चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालयको नियम अनुसारको १२ हजार मासिक सुविधा पाउनुपर्ने, परीक्षा शुल्क घटाउनु पर्ने, होस्टलको समयाबधि बढाउनुपर्ने लगायतका माग राखेर इन्टर्नसीपका विद्यार्थी आन्दोलनमा उत्रिएपछि विवाद बढेको हो ।
 त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा शुल्क नियमिततर्फ ५० रुपैयाँ र एक्जाम्टेडतर्फ ४ सय ५० रुपैयाँ तोकेकामा कलेजले वार्षिक परीक्षा शुल्क ८ हजार रुपैयाँ लिने गरेको र प्रत्येक वर्ष १ हजारका दरले शूल्क वृद्धि गर्ने गरेको आरोप विद्यार्थीहरुको छ । 
सन् १९९८ मा स्थापित त्रिविआवद्ध यो कलेजमा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । कलेज प्रशासनले विद्यार्थीहरुको मागका सम्बन्धमा निर्णय लिन सात सदस्यीय कमिटी पनि गठन गरेको छ । RSS, IMAGECHANNEL