भ्रष्टाचार अभियोगमा डेढ बर्ष कारागार बसेका पूर्व मन्त्री खुमबहादुर खड्का छुटे

शेखर अधिकारी, ईकान्तिपुर 
काठमाडौ  – भ्रष्टाचार अभियोगमा डेढ बर्ष कारागार बसेका पूर्व मन्त्री एवम् कांग्रेस नेता खुमबहादुर खड्का आज छुटेका छन् । डिल्लीबजार कारागारबाट छुटेलगत्तै उनले आफूमाथि न्यायपालिकाले अन्याय गरेको आरोप लगाए ।
‘मैले सरकारी सम्पति दुरुपयोग गरेको र हिनामिना गरेको एउटा पनि प्रमाण छैन्’, उनले भने,’अनुमानको भरमा अनुमानित कसुर नाम दिएर मलाई जनता र राजनीतिबाट टाढा राख्ने प्रयास भयो ।’
आफू १४ महिना कारागार बस्दा कहिल्यै पनि न्यायपालिकाले अन्याय गरेका बिषयमा नसोचेको उनले बताए । भने,’मुलुकको अवस्था, प्रजातन्त्र र खतरामा परेको राष्ट्रियताका बारेमा सोचिरहेँ ।’
आफू अहिले पनि कांग्रेसको केन्द्रीय सदस्य रहेकाले आगामी निर्वाचनका लागि पार्टीले दिएको जिम्मेवारी निभाउने उनले बताए । उनले ३३ दलीय मोर्चालाई बाहिरै राखेर गरिने निर्वाचनले द्वन्द्व निम्त्याउने भन्दै यसको जिम्मेवारी प्रमुख पार्टीले लिनुपर्ने औल्याए ।
उनी छुट्ने दिन आज बिहानैदेखि डिल्लीबजार कारागार बाहिर समर्थक र कांग्रेस कार्यकर्ता जम्मा भएका थिए ।
खड्कालाई गत बर्ष साउन ३० गते सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैद र ९४ लाख ७४ हजार एकसय २२ रुपैयाँ जरिवाना र त्यति नै बिगो तिराउने फैसला गरेको थियो । उनी भदौं ६ गते डिल्लीबजार कारागार पठाइएका थिए । न्यायाधीशहरू कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलाजले खड्काको मुद्दामा फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक-पटक मन्त्री हुँदा खड्काले २ करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले ०६३ कात्तिक २९ मा खड्कलाई सफाइ दिएको थियो । त्यसपछि अख्तियारले ०६३ चैत १५ मा सर्वोच्चमा पुनरावेदन दिएको थियो ।