सिराहा क्षेत्र नम्बर ५ बाट विजयी भएका एमाओवादीका प्रचण्डविरुद्ध बुथ कब्जा गरेर जितेको भन्दै उजुरी

सिराहा क्षेत्र नम्बर ५ बाट विजयी भएका एमाओवादीका अध्यक्ष प्रचण्डविरुद्ध बुथ कब्जा गरेर जितेको भन्दै संविधानसभा अदालतमा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठले उजुरी दिएका छन् ।
मंगलबार एक कार्यक्रम गर्दै पर्यवेक्षकको प्रतिवेदन, सञ्चारमाध्यमका समाचार र मतपरिणामको तथ्याङकसहित उजुरी दिएका हुन् ।
श्रेष्ठले प्रचण्डको पक्षमा दुई गाविसका तीन मतदान केन्द्र अन्तर्गतका ६ बुथ कब्जामा लिएर अरुलाई मत हाल्नै नदिई सबै आफ्नो पक्षमा हालेको दाबी गरेका छन् ।
कल्याणपुर, कालाबन्जर गाविसको प्राथमिक विद्यालय, कल्याणपुर काला बञ्जर मतदान केन्द्र क र ख बुथ, सोही गाविसको वडा नम्बर ८ र ९ अन्र्तगतको प्राथमिक विद्यालय बडहरामालको क र ख बुथ गरी दुई गाविसका ६ बुथ प्रचण्डको पक्षमा कब्जा गरेको बताए ।
उनले आफ्नो प्रतिनिधिलाई बुथमा राख्न नदिई मतदान गराईएको, एकलौटी बुथ कब्जा गरी मत हाल्दै गर्दा सशस्त्र प्रहरीले मतपत्र खोसेर मतदान अधिकृतलाई बुझाएको, सो विषयमा आफूले तत्कालै निर्वाचन आयोगमा उजुरी गरेको र आफ्नो सहमतिबीना मतगणना गराएकोले पनि सो क्षेत्रमा धाँधली भएको प्रष्ट भएको दाबी गरेका छन् ।
उनले कब्जा गरिएका क्षेत्रमा पुन मतदान गराउन माग गर्दै पुन मतदान गराईए आफ्नो जित सुनिश्चित दाबी गरे ।
श्रेष्ठले आफूलाई सिराहाको जनताले नहाराएकोले हार स्वीकार गर्ने प्रश्नै नउठ्ने भन्दै बेईमान गरेर चुनाव जित्ने प्रचण्डले शिर निहराएर हिड्नु पनै बताए ।
‘सिराहाका जनता मेरो पक्षमा छन । मैले जितेको हो । फेरि धाँधली गरेको क्षेत्रमा चुनाव भए म सहजै चुनाव जित्छु । ११ गाविसमा मेरो अग्रता हुने दुई गाविसमा मलाई भोट नआउने अनि प्रचण्ड जित्ने यस्तो हुन सक्दैन,’ उनले पत्रकार सम्मेलनमा भने। setopati