भिमसेनको पसिना पुछेको कपास राष्ट्रपति कार्यालय पठाइने

प्रसिद्ध दोलखाको भिमेश्वर मन्दिरको शिलामा आईतवार दिउँसो २ घण्टासम्म पसिना आएको छ । भिसेनको शिलामा सात बर्षपछि पसिन आएको हो । ऐतिहासिक  शहर दोलखामा रहेको भीमेश्वरलाई पसिना आउँदा मुलुकमा अनिष्ट हुने बुढापाकाहरुले बताउँदै आएका छन् ।
भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राजदरबारलाई र बायाँबाट पसिना आउँदा नागरिकलाई अनिष्ट हुने उनीहरुको भनाई भएपनि यस पटक भीमसेनको शिलाको शिरबाट तीनधारा हुँदै पसिना आएको हो ।
भीमसेनको शिलामा पसिना आएको ६ महिनाभित्र देशमा ठुला घटनाहरु भएको दावी गरिदै आएको छ । भिमसेनको शिलामा विक्रम संव्त १९९० सालमा पसिना आएको थियो त्यस पटक भिमसेनको वायाँतर्फ पसिना आएकोले देशमा ठूलो भूईचालो गएको गुठियार डम्बरबहादुर श्रेष्ठले बताउनुभयो । १९९७ सालमा पनि भिमसेनको शिलामा पसिना आएको थियो । त्यही वर्ष ४ जना नेपाली नागरिकलाई झुण्डयाएर फाँसी दिइएको थियो ।
त्यसैगरी २००७ सालमा भिमसेनलाई पसिना आउँदा एक सय चार वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको थियो । २०११ सालमा पसिना आउँदा तत्कालिन राजा त्रिभुवनको निधन भएको थियो भने २०१८ सालमा भिमसेनलाई पसिना आउदा देशमा बाढी पहिरो आएको थियो  । यस्तै २०२८ साल माघ महिनामा भिमसेनलाई पसिना आउँदा तत्कालिन राजा महेन्द्रको निधन भएको थियो ।
त्यसैगरी २०३५ साल फागुनमा पसिना आउदा देशमा जनमत सग्रह भएको थियो । २०४५ साल चैत्रमा पसिना आउदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भइ देशमा बहुदलीय प्रजातन्त्र आएको थियो । २०५७ सालमा भने माघ १ र १५ गते भिमसेनलाई पसिना आएको थियो यसरी पसिना आएको ४ महिना नवित्दै दरवार हत्याकाण्ड  भएको थियो । त्यसैगरी २०६१ साल फाल्गुणमा भिमसेनलाई पसिना आउँदा देशमा जन आन्दोलन भयो । २०६३ सालमा पनि भिमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको थियो । भिमेसनलाई पसिना आउँदा देशमा हरेक पल्ट केही उथल पुथल भएकाले यसलाई अनिष्टको रुपमा हेर्ने गरिएको संस्कृतिबिद् शान्ताकृष्ण श्रेष्ठले बताउनुभयो ।
विगतका दिनहरुमा पसिना आउँदा कवासले पसिना पुछि दरवारमा पुर्‍याउने प्रचलन रहेको थियो र दरवारमा पुर्‍याएपछि स्थानीय प्रशासनको सहयोगमा पुन भिमेश्वर मन्दिरमा दरवारको तर्फबाट क्षमा पूजा गर्ने चलन थियो ।
यस पटक भिमसेनको शिलामा आएको पसिना स्थानीय प्रशासनमार्फत राष्ट्रपति कार्यालय पठाइने व्यवस्था मिलाईएको गुठियार श्रेष्ठले बताउनुभयो । दैनिक रुपमा भिमेश्वर मन्दिरमा गुठियारहरुले अहिले पनि राज पूजा गर्दैै आएका  छन आइतवार पनि राज पूजा सम्पन्न गरे लगतै भिमसेनको शिलामा पसिना आएको गुठियार श्रेष्ठले बताउनुभयो । भिमसेनको पसिना पुछेको कवास महाप्रसादको रुपमा ग्रहण गरिने प्रचलन रहेको हुनाले आइतवार दिनभर नै भिमसेन मन्दिरमा भक्तजनहरुको ठूलो घुइँचो लागेको थियो ।