वीरेन्द्र केसी
सन्धिखर्क , अर्घाखाँची (२०७० माघ २६ आइतवार)। भारत र चीनको सीमानासम्म जोडिने लुम्बिनी – सालझण्डी- अर्घाखाँची-ढोरपाटन सडक अन्तर्गत सदरमुकाम सन्धिखर्कमा ट्रयाक खोल्नमा जग्गाधनीले अवरोध गरेका छन । अवरोधपछि काम बीचमै रोकिएको छ ।
सदरमुकामबाट सडक खोल्ने क्रममा प्रमुख जिल्ला अधिकारी सहित ढोरपानटन सडकका ईन्जिनियर र दलका नेताको बैठकले गरेका निर्णय विरुद्ध जग्गाधनी लागेका छन । आफना घर घडेरी मासिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ । नीजि जग्गा कम क्षति हुनेगरी सडक खोल्नुपर्नेमा सबै एक मत छन । सदरमुकाम सन्धिखर्कमा राजनीतिक दलको आडमा सार्वजनिक जग्गा मिचेर घर घडेरी बनेको उजुरीपछि भुमिसुधार मन्त्रालयले जग्गा नामसारी गर्नमा रोक लगाएको छ । पहिले सार्वजनिक जग्गा छुटाएपछि सडक खोल्न सजिलो हुने सरोकारवालाको भनाई छ ।
यो सडक निर्माण सम्पन्न पछि गुल्मी, वाग्लुङ, रोल्पा, प्युठान लगायतका जिल्लाको केन्द्रविन्दु अर्घाखाँची बन्नेछ । सन्धिखर्क र चुत्रावेशीको बीच वागी खोलाबाट बसपार्क रतले हुँदै रुब्दीमा लगेर मुल सडकमा जोडने निर्णय गरेको अर्को दिनमै विरोधमा उत्रिएपछि सडक छेडने फेरी अन्योलमै रहयो । दलकै नेताकै बारम्बार निर्णय परिवर्तन गरेर गल्ती गरे, संघर्ष समितिका संयोजक धर्मराज बञ्जाडेले भने, दलले आफुसुखी गरेको निर्णय खारेज गर्नुपर्छ । निर्णय फिर्ता नलिए जस्तोसुकै पनि आन्दोलन गर्ने उनले चेतावनी दिए । फुदवाङ हुदै सन्धिखर्क र रुब्दीसम्म ट्रयाक एक वर्षसम्म खुल्न सकेको छैन ।
सालझण्डीबाट फुदवाङ र विहारबाट ढोरपाटनसम्म सडक निर्माणकार्य धमाधम भएपनि सदरमुकाममा सडक कहाँबाट छेडने भन्ने विषयमा एक वर्षसम्म निर्णय कार्यन्यवन हुन सकेको छैन । बारका जिल्ला अध्यक्ष केबी भुसालले वागी खोलाको किनार र अन्य खोल्सा मिचेर व्यक्तिले घर बनाएका छन, तत्काल छानविन गरी सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएर घर भत्काउनुपर्ने बताए । उनले जग्गाको कारोवार गर्नेले सार्वजनिक जग्गा गाउँका सोझासाझा मध्यम वर्गका व्यक्तिलाई बिक्री गरेर फसाएको दावी गरे । कारवाही गर्ने निकाय प्रशासन मौन बसेकाले अतिक्रमण बढ्दो रहेको छ ।
काग्रेस सभापति कमलप्रसाद भुसाल, एमालेका रामबहादुर चौहान, रामजी घिमिरे, एमाओवादीका गोविन्द केसी, नेकपा-माओवादीका भेषराज भुसाल र राजमोका झविलाल थापाले निर्णय पुनःविचार गर्न नसकिने र सबैभन्दा कम क्षती हुने सन्धिखर्क, बसपार्क, रतले सडक भएकाले केही व्यक्तिले निहीत स्वार्थका कारण आन्दोलन भएको बताएका छन । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जिल्लाको विकासमा जुटन आग्रह गर्दै जनताको हितभन्दा बाहिर गरेर कुनै निर्णय नगर्ने बताएका छन ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।