संविधानसभाको उपाध्यक्षमा एकीकृत माओवादीकी सभासद् ओनसरी घर्तीमगर निर्वाचित

काठमाडौं, फाल्गुन १४ । संविधानसभाको उपाध्यक्षमा एकीकृत नेकपा माओवादीकी सभासद् ओनसरी घर्तीमगर निर्वाचित भएकी छिन् । नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन गरेपछि एमाओवादी सभासद घर्ती ४ सय ८४ मत ल्याएर संविधानसभाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
अघिल्लो संविधानसभामा पनि एमाओवादीले संविधानसभाको उपाध्यक्ष पद पाएको थियो । एमाओवादी सभासद घर्तीलाई कांग्रेस, एमालेसहित राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका २८ दलले मत दिएका थिए ।
घर्तीसँगै नेपाल मजदुर किसान पार्टीकी सभासद अनुराधा थापामगरले उम्मेदवारी दिएपछि उपाध्यक्ष चयनका लागि संविधानसभाको आजको बैठकमा निर्वाचन भएको हो । निर्वाचनमा घर्तीको प्रतिस्पर्धामा रहेकी नेमकिपाकी सभासद थापामगरले जम्मा ५ मत पाइन् ।
थापामगरलाई नेमकिपा बाहेक नेपा पार्टीका सभासद लक्ष्मण राजवंशीले मात्र भोट दिएका थिए ।
संविधानसभाको उपाध्यक्षमा निर्वाचित घर्ती संविधानसभा सदस्यमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन् । अघिल्लो संविधानसभामा समानुपातिकतर्फबाट सभासद चुनिएकी घर्तीमगर युवा तथा खेलकुद मन्त्री समेत भएकी थिइन् ।
IMAGECHANNELS