प्रेमनारायण आचार्य
अर्घाखाँची, वैशाख १४ । सालझण्डी ढोरपाटन सडकको नयाँ ट्रयाक खोल्ने विषयमा सदरमुकाम सन्धिखर्कमा स्थानीय वासिन्दाले विरोध जनाएका छन् ।
राजनीतिक दल र स्थानीय प्रशासनले सालझण्डी ढोरपाटन सडक सन्धिर्खक बसपार्क हुँदै रतहलेबाट रुब्दीमा मूल सडकमा जोड्ने निर्णय गरेपछि स्थानीय वासिन्दाले विरोध जनाएका हुन् । स्थानीय वासिन्दाको विरोधका कारण निर्णय कार्यन्वयन हुन सकेको छैन ।
सर्बपक्षीय बैठकको निर्णयले एक सय घर र जनज्योति उच्च मावि विस्थापित हुने भएकाले विरोध जनाएको संघर्ष समितिका अधयक्ष धर्मराज वञ्जाडेले बताउनुभयो । पहिले सर्भे भएको सोझो र भरपर्दो छोडेर नयाँ ठाउँबाट सडक घुमाउदा आफुहरुको बास तथा सम्पत्तिनै समाप्त हुने भएकाले पुरानो सर्भेलाइ कायम राख्नुपर्ने माग गरेको उहाँको भनाई छ । सालझण्डी ढोरपाटन सडक निर्माणपछि सन्धिखर्कबाट बुटबल जान २५ किलोमिटर छोटो हुनेछ । यो सडकले अर्घाखाँची, पाल्पा, रुपन्देही, गुल्मी, बाग्लुङ लगायतका जिल्लाका बासिन्दा लाभान्वित हुनेछन् ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले यो सडकको विकल्पको विषयमा पनि छलफल गरिने बताउनुभयो । ढोरपाटन सडक परियोजनाका प्रमुख मेघराज मरासिनीले पनि कम क्षति हुने ठाउँबाट सडक लैजाने बताउनुभयो । नेपाली कांग्रेसका सभापति कमल भुसालले पनि सर्बपक्षीय बैठकले गरेको निर्णयलाई पुनर्विचार गरेर कम क्षति हुने ठाउँबाट सडक लैजानुपर्ने धारणा राख्नुभयो ।