मोटसाईकल र भैंसी दाइजो नल्याएको भन्दै बांकेकी एक गर्भवती महिलालाई उनकै पतिद्धारा जलाएर मार्ने प्रयास

नेपालगञ्ज, वैशाख २३ । मोटसाईकल र भैंसी दाइजो नल्याएको भन्दै बांकेकी एक गर्भवती महिलालाई उनकै पतिले जलाएर मार्ने प्रयास गरेका छन् । शरीरको तल्लो भाग पुरै जलेकी लक्ष्मणपुर गाउं विकास समिति वडा नम्बर ८ मियापुरकी रिहान सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचारको बहानामा भारतको बहराइच पुर्‍याएर घटनालाई गुपचुप पारिएको थियो ।
चैत ३ गतेको घटना डेढ महिनापछि मात्र सार्वजनिक भएको हो । रिहानाको कम्मर मुनिको भाग पुरै जलेको छ भने तल्लो भाग चल्दैन । छोरी भेट्न बहराइच पुगेका रिहानाका पिता मोहम्मद समिम सेख ढपालीले वैशाख ८ गते नै गम्भिर घाइते छोरीलाई नेपालगन्ज ल्याएर भेरी अञ्चल अस्पतालमा भर्ना गरेका थिए । त्यसपछि मात्र उक्त घटना बाहिर आएको हो ।
उपचारमा आर्थिक अभाव भएपछि नेपालगन्जमा विभिन्न संघसंस्थाको सहयोगमा उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । उनको बीर अस्पतालमा उपचार भईरहेको छ ।
 IMAGEKHABAR