डिआइजीहरु ब्रिफकेश बोकेर मन्त्री र नेताहरुको घरघर जाँदै छन् भन्ने एसएसपी रमेश खरेलको अभिव्यक्तिबारे छानबिन गर्न समिति गठन, काठमाडौबाट सरुवा गर्ने तयारी

आइजिपी उपेन्द्रकान्त अर्यालले बढुवाका लागि डिआइजीहरु ब्रिफकेश बोकेर मन्त्री र नेताहरुको घरघर जाँदै छन् भन्ने एसएसपी रमेश खरेलको अभिव्यक्तिबारे छानबिन गर्न डिआइजी विज्ञानराज शर्माको अध्यक्षतामा समिति गठन गरेका छन्। समिति तीन सदस्यीय रहेको प्रहरी स्राेतले जानकारी दिएको छ। 
एसएसपी रमेश खरेलले शनिबार एक कार्यक्रममा कतिपय डिआइएजीहरु एआइजी बन्न ब्रिफकेश बोकेर मन्त्री र नेताहरुको घरघरमा गएको आरोप लगाएका थिए। 
काठमाडौंकाे महेन्द्र पुलिस क्लबमा भएको भष्ट्राचार विरुद्धका अभियन्ताहरुलाई स्वच्छ नागरिक सम्मान कार्यक्रममा एसएसपी खरेलले केही पैसावाल डिआइजीहरु ब्रिफकेश बोकेर मन्त्री र नेताहरुको घरघरमा गएको आरोप लगाएका थिए। 
‘छिट्टै एआइजी बढुवा हुँदैछ,’ खरेलले भने, ‘कतिपय डिआइजी पैसावाल छन्, ब्रिफकेश बोकेर मन्त्री र नेताको घरघर गइरहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई इंगित गर्दे उनले भनेका थिए, ‘नेता र मन्त्रीका घरघर जाने डिआइजी तपाईँले चिन्नुभएको छ, त्यस्तालाई प्रमोशन दिनु हुन्न, त्यहीँबाट भष्ट्राचारविरुद्ध अभियान सुरु गर्नोस्।
यसैबिच मुख्यालयले पटक/पटक सचेत गराउँदामा समेत संगठनको निर्देशनबिरुद्ध गएर अभिब्यक्ति दिएको भन्दै खरेलको सरुवाको तयारी समेत गरेको छ । उनले केही समयअघि एउटा टेलिभिजनमा अन्तर्वार्ता दिदै संगठन भित्र राम्रा र नराम्रा आफू भन्दा माथिल्ला प्रहरी अधिकारीको नाम नै लिएका थिए ।
त्यो ताका समेत मुख्यालयमा उनको चर्को विरोध भएको थियो । ब्यावसायिक हिसाबले कुशल, दक्ष र निडर मानिने खरेलले चेनअफ कमाण्ड बाहिर गएर अभिब्यक्ति दिन थालेपछि उनको चर्को आलोचना हुन सुरु भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११
SETOPATI