रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले यूक्रेनले अघि सारेको शान्ति प्रस्तावमा सशर्त सहयोग गर्ने

आषाढ ८ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले यूक्रेनले अघि सारेको शान्ति प्रस्तावमा सशर्त सहयोग गर्ने बताएका छन् । व्यवहारिक कार्यान्वयन गर्ने हो भने किभले ल्याएको शान्ति प्रस्तावलाई सघाउन सकिने उनले बताएका हुन् ।
यसकालागि यूक्रेनले रुसी पृथकतावादी विद्रोहीहरुसँग धरातलीय यथार्थमा टेकेर वार्ता र सम्झौता गर्नुपर्ने सुझाव उनको छ । विद्रोहीका मागको सुनुवाई नगर्ने हो भने शान्ति योजनाको कुनै अर्थ नहुने उनको भनाइ छ ।
यूक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोले एक साताभित्र हतियार बिसाएर वार्तामा आउन विद्रोहीहरुलाई दिएको समयलाई चेतावनीका रुपमा नलिन पनि पुटिनले भने । उता सीमा क्षेत्रमा रुस समर्थक विद्रोहीहरुसँग सरकारी सेनाको भिडन्त जारी रहेको छ ।
सरकारी युद्ध विरामको स्वयं सरकारी सेनाले उल्लंघन गरेको आरोप पृथकतावादीहरुले लगाएका छन् । उता अमेरिकाले भने केही रुस समर्थक यूक्रेनी अधिकारीमाथि प्रतिवन्ध लगाएको छ ।