एमालेको मतगणना १ बजेपछि

नेकपा एमालेको नयाँ नेतृत्वको लागि शनिबार बिहान तीन बजेसम्म मतदान भएको छ ।  
मतगणना भने दिउसो १ बजेपछि सुरु हुनेछ । नेताहरुबीच दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिनुभयो ।  
शुक्रबार बेलुकी सुरु भएको मतदान शनिबार बिहान ३ वजे सम्म चलेको थियो । मतदानका लागि ६ वटा बुथ र ३५ वटा केन्द्रको व्यवस्था गरिएको थियो । २ हजार १ सय ७६ जना प्रतिनिधि मध्ये २ हजार १ सय ५२ मत खसेको निर्वाचन आयोगका अध्यक्ष प्यासीले बताउनुभयो ।
पदाधिकारीसहित १ सय ५८ सदस्यका लागि ३ सय ३५ जना चुनावी प्रतिस्पर्धामा छन् । १७ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । मत पत्रमा माधव नेपाल र केपी ओली प्यानल भनेर छुट्याइएको थियो ।
मतपत्रमा दुई वटा प्यानल र स्वतन्त्र गरी ३ कोलम राखिएकोे थियो । नयाँ नेतृत्वको लागि एमालेका पुर्व महासचिव माधबकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले छुट्टाछुट्टै प्यानल सहित उमेदवारी दिनु भएको छ । नेपाल पक्षले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र राजेन्द्र पाण्डे, महासचिवमा सुुरेन्द्र पाण्डेलाई अघि सारेको छ भने उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल हुनुहुन्छ । त्यस्तै, सचिवमा गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य, बेदुराम भुसाल र सचिबमा परशुराम मेघी गुरुङ्गले उम्मेद्वारी दिनु भएको छ ।  
केपी ओलीको प्यानलको उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद साह, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल हुनुहुन्छ । त्यस्तै सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ हुनुहुन्छ ।