धर्मकर्म, रीति-रिवाजमा विश्वास नगर्ने कम्युनिस्ट पार्टीको मूख्यालयमा भूत आतंक ? भूत पनि कस्तो भने छापामार शैलीमा मध्यराति आयो, नेपाललाई सरार्यो, राजनीतिक नाराबाजी गर्यो, अलप भयो ।
फोनमा खबर पाएर पुलिस आइपुग्दा चकमनन । एमाओवादी पार्टी कार्यालय पेरिसडाँडाको कथा हो यो । राति १२ बजेपछि एउटा समूह अकस्मात प्रकट हुने, चर्को स्वरमा चिच्याउने क्रम पटक पटक दोहोरिइसकेको छ । गुनासो आएपछि मूख्यसचिव हितराज पाण्डेसमेत आएर बास बसिसकेका छन् । प्रहरीले पनि सादा पोसाकमा आक्कल झुक्कल गस्ती पठाउने गरेको छ ।
तर भूत पत्ता लगाउन सकिएको छैन । आजित भएपछि नेतृत्वको तर्फवाट सुरक्षा गार्ड निश्चल राना र चिया सर्भ गर्ने उनकी पत्नी सुशीलासहित कर्मचारी समिरलाई चनाखो भएर राति सुत्न भनिएको छ । रातविरात भूत आएर नेताहरुलाई देश छोड् भन्दै नारा लगाउने गरेपछि ती कतै बहिर्गमित लडाकू त होइनन् भन्ने कोणबाट समेत अनुसन्धान सुरु भएको छ ।
स्रोतका अनुसार प्रचण्ड, बाबुराम, टोपवहादुर र वर्षमान चारजनाविरुद्ध छिनछिनमा नारा लगाउने गरिएबाट पनि यस्तो आशंका गरिएको हो । चुनाव लगत्तै त्यहाँबाट १३ जनाको सुरक्षा डफ्फा निकालिएको हुनाले उनीहरु पनि शंकाको घेरामा छन् । (जनआस्था)