राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सभासद दुर्गा पौडेलले संविधान जारी हुन नदिने तत्व धेरै रहेकाले समयमै संविधान बन्छ भनेर अहिले नै भन्न नसकिने बताउनुभएको छ ।
समयमै संविधान बनाउनुको विकल्प नरहेको बताउँदै उपाध्यक्ष पौडेलले तर समयमै संविधान जारी हुन नदिने तत्व धेरै रहेको बताउनुभयो ।
पौडेलले समयमै संविधान जारी गर्न जनमोर्चाले संघीयताको मुद्धालाई लिएर बाधक नबन्ने बताउनु भयो । जनमोर्चा देशलाई संघियतामा लैजान हुदैन भन्दै आएको पार्टी भएपनि यही मुद्धालाई लिएर संविधान नबन्ने अवस्था आउन नदिने उपाध्यक्ष पौडेलको भनाई छ । उहाँले नयाँ संविधानमा संघीयताको मुद्दामा नोट अफ डिसेण्ट लेख्ने तर अवरोध नगर्ने पौडेलले स्पष्ट पार्नु भयो ।
उहाँले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आफुले संसद र संविधानसभामा आवाज उठाउने प्रतिबद्धता पनि जनाउनुभयो । समाजका सबै समुदायले समान अवसर पाउनु पर्छ भन्दै उहाँले अब बन्ने संविधानमा समलिंगी तेस्रोलिंगीका अधिकार पनि उल्लेख हुनु पर्नेमा जोड दिनुभयो ।
संविधान निर्माणका लागि जनतासंग सुझाव लिन गाउँ गाउँ जाने क्रममा समलिंगी तेस्रोलिंगीले पनि सुझाव दिन पाउने वाताबरण बनाउन आफै कुरा राख्ने बताउदै पौडेलले सुझाव लिन गएका सभासदलाई सुझाव दिन समलिंगी तेस्रोलिंगीलाई सुझाव दिनुभयो ।