नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाई छोटे राजा सम्झिएर विपक्षी दलहरुलाई पेल्न खोजेको प्रन्चण्डको आरोप

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाई छोटे राजा सम्झिएर  विपक्षी दलहरुलाई पेल्न खोजेको आरोप लगाउनुभएको छ ।
पूर्वजनमुक्ति सेना महिला प्रतिष्ठानले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा एमाओवादी अध्यक्ष दाहालले आफूहरु संविधानसभाबाट परिवर्तनसहितको संविधान जारी होस् भन्ने पक्षमा रहेपनि कांग्रेस र एमाले परिवर्तनविरोधी संविधान ल्याउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।
उहाँले कांग्रेस र एमालेलाई प्रतिक्रियावादी भन्दै आन्दोलनका उपलब्धी रक्षा गर्न आफूहरु प्रतिक्रियावादी शक्तिसँग संघर्षरत रहेको बताउनुभयो । उहाँले माओवादी, आदिवासी जनजाति, दलित लगायतलाई बेवास्ता गरी कांग्रेस र एमालेले आफूलाई छोटे राजा ठानेर संविधान जारी गरे ठूलो द्वन्द्व हुने चेतावनी दिनुभयो ।
एमाओवादी अध्यक्ष दाहालले पार्टी राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा नै रहेको भन्दै निराश नहुन पूर्व लडाकु महिलाहरुलाई आग्रह गर्नुभयो । यद्यपी, सांगठनिक र वैचारिक हिसाबले पार्टीलाई बदल्न भने आवश्यक रहेको  उहाँको भनाइ छ ।
उहाँले विगतमा भएका कमी कमजोरीको समीक्षासहित पार्टीलाई पुनर्निमाण गर्ने प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो । उहाँले पूर्व लडाकु महिलाहरुलाई घरयासी काममा मात्र नअल्मलिन आग्रह गर्दै आफूले महिलाहरुको उत्पादन विग्रेड बनाउने बारेमा गृहकार्य गरिरहेको बताउनुभयो ।