आश्विन १२ । भारतकी चर्चित र विवादास्पद राजनीतिज्ञ जयराम जयललितालाई बैंग्लोरको एउटा अदालतले भ्रष्टाचारको मुद्दामा चार वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनलाई एकसय करोड भारतीय रुपैयाँ जरिवाना तिराउने निर्णय भएको छ ।
१८ वर्षअघिको एउटा मुद्दामा अदालतले दक्षिणी राज्य तामिलनाडुकी मुख्यमन्त्री जयललिताले गैरकानुनी रुपमा सम्पत्ती जम्मा गरेको ठहर गरेको थियो । जयललितालाई सन् १९९१ देखि १९९६ सम्ममा झन्डै साढे ६६ करोड भारतीय रुपैयाँ स्रोत नखुलेको सम्पत्ती जम्मा गरेको आरोप थियो ।
अदालतको आदेशपछि अब जयललिताले मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुपर्नेछ । सो मुद्दामा जयललिता र सहयोगीहरु शशिकला, सुधाकरन भन्ने धर्मपुत्र र भान्जी इलावर्सीलाई पनि दोषी ठहर गर्दै अदालतले चार वर्ष जेल र १० करोड भारतीय रुपैयाँ जरिवाना पनि गरेको छ ।
भारतको सर्वोच्च अदालतले सन् २००३ मा जयललिताले भ्रष्टाचार गरेको या नगरेको भन्ने बारे निर्णय गर्न विशेष अदालत गठन गरेको थियो । AGENCIES