प्रमुख दल निकट विद्यार्थी संगठनहरुले मुलुक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउन खोजेको आरोप लगाएका छन।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले राजनीतिक दलका नेतृत्वले मुलुक नचलाएको बताए।
अनेरास्ववीयूका पूर्व अध्यक्ष माधव ढुङ्गेलले मुलुक प्रधानमन्त्रीले नभई अख्तियारले चलाईरहेको भन्दै कसैलाई पक्रेर थुन्ने काम अख्तियारको नभई गृहमन्त्रालयको भएको बताए। उनले भ्रष्टाचारको नाममा जो कोहीलाई थुनेर भोलि भ्रष्टाचार ठहर हुन नसके उसको गिरेको सामाजिक साख कसले फिर्ता गर्ने भनि प्रश्न गरे।
अनेरास्ववीयूका बर्तमान अध्यक्ष किशोर विक्रम मल्लले अख्तियारले विश्वविद्यालयलाई बदनाम गर्ने उद्देश्यसहित पोखरा विश्वविद्यालयका सबैलाई पक्राउ गरेको भन्दै यस विषयमा विश्व विद्यालयका कुलपति प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरे।
भ्रष्टाचार नियन्त्रणको सकारात्मक पहललाई आफूहरुले सहयोग गर्ने स्पष्ट पार्दै पोखरा विश्वविद्यालयमा भएको कारवाही आपत्तिजनक भएको दावी गरे।
शंकरदेब क्याम्पसका स्ववीयू सभापति शुभराम बस्नेतले विश्वविद्यालयको भ्रष्टाचारलाई हाउगुजी बनाएको अख्तियारले ठूला भ्रष्टहरुलाई कारवाही गर्न नसकेको गुनासो गर्दै यसले शिक्षा क्षेत्रलाई तहसनहस पार्ने चेतावनी दिए।
अनेरास्ववीयू क्रान्तिकारीका रमेश मल्लले अख्तियारले गलत ढंगले विश्वविद्यालयलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै शैलीको आलोचना गरे।
SETOPATI