गढीमाई (बारा), मंसिर १८ – दुई सातादेखि सञ्चालित गढीमाई मेलामा दिनहुँ यौनहिंसाका घटना भइरहेका छन् । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा भारतबाट ल्याइएका चारवटा थिएटर (अश्लील पहिरन र गीतमा नृत्य गर्ने महिलाको समूह) र मदिरा बिक्रीको असरले यौन क्रियाकलाप भइरहेको प्रहरीको अनुमान छ ।
यस्ता थिएटरमा सादा र पोसाकसहितका प्रहरीको उपस्थिति बाक्लो देखिन्छ । मेला सुरक्षार्थ नेपाल र सशस्त्र प्रहरीका गरी एक हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका अनुसार सोमबारसम्म यौन दुव्र्यवहारको चपेटामा परेका २५ महिलाको उद्धार गरिएको छ । आरोपित कतिपयलाई व्यावहारिक सजाय गरी छाडिएको छ । ‘घटनाको प्रकृतिअनुसार अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक देवकुमार श्रेष्ठले भने, ‘कतिपयलाई उद्धार गरी परिवारको जिम्म्ाा लगाएर घर फर्काएका छौं ।
अधिकांश पीडित सोझासादा र सँगै अभिभावक नभएका पाइएको छ ।’ यौनहिंसाको चपेटामा परेका थिएटरकै चार महिलालाई उद्धार गरिएको उनले जानकारी दिए । पीडितको उद्धार गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ । मेलामा प्रहरी महिला सेलको टोलीसमेत परिचालित छ । प्रहरीको अधिकांश समय यौन दुव्र्यवहार र लुटिने घटना रोक्नमा बितिरहेको छ । ‘मौका छोपेर प्रहरीले नै तीर्थालु महिला र ‘थिएटर’ मा प्रवेश गर्दै दुव्र्यवहार गरिरहेका छन्,’ एक पीडितले भनिन्, ‘महिलाको भीड रहेका ठाउँमा हटाउने बहानामा धकेल्दै प्रहरीले संवेदनशील अंगमा छोइदिन्छन् ।’
कडा निर्देशनका बाबजुद लुकीछिपी थिएटर गएका प्रहरीमाथि कारबाही भइरहेको प्रहरी उपरीक्षक लोकेन्द्र मल्ल्ाले बताए । ‘यौन दुव्र्यवहारका घटना रोक्न अधिकत्ाम प्रयास गरेका छौं,’ उनले भने, ‘गुनासो आउनासाथ पीडितको उद्धार गर्दै दोषीलाई समातिरहेका छौं ।’ सुरुमा सहमतिमा एक जनाले यौनसम्पर्क राख्ने र पछि सामूहिक दुव्र्यवहार गर्ने प्रवृत्ति देखिएको उनले बताए । ‘धार्मिक मेलामा यस्ता घटना हुनु लज्जास्पद हो,’ एसपी मल्लले भने ।
सातमाथि मुद्दा
यसैबीच, प्रहरीले मेलामा सामूहिक बलात्कार गर्ने सात जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट म्याद लिएको छ । ३८ वर्षकी भारतीय महिलामाथि सामूहिक बलात्कार आरोपमा कलैया ७ का १७ वर्षीय अमित सर्राफ, १८ वर्षीय सतिश सिंह, विवेक साह, रोशन श्रीवास्तव, ८ का २० वर्षीय इन्ताज आलम, १३ का २२ वर्षीय बब्लु साह र ४ का २२ वर्षीय विकास साह पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ती महिला सोमबार राति बलात्कृत भएपछि रक्ताम्मे अवस्थामा फेला परेकी थिइन् । पीडितको बयान, स्वास्थ्य परीक्षण र घटनाको प्रकृति हेर्दा बलात्कार खुलेको प्रहरीले जनाएको छ । उनको तत्काल उपचार गराई स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिएको छ ।
EKANTIPUR