रौतहट, मंसिर १८ । राष्ट्रपति डा.रामवरण यादवले रौतहटको जुडिबेलास्थित राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरिएको क्षेत्रको विहीबार स्थलगत निरीक्षण गरेका छन् । हर्दिया नदी कटान नियन्त्रणका लागि जिल्ला भू-संरक्षण कार्यालयले गरेको कार्यको स्थलगत निरीक्षण गर्दै राष्ट्रपति यादवले स्थानीय बासिन्दालाई चुरे संरक्षणमा लाग्न अनुरोध गरे ।
त्यसक्रममा जिल्ला वन अधिकृत बाबुराम भण्डारी र भू-संरक्षण अधिकृत विनोद सिंहले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएपछि दुबै कार्यालयले गरेका कामको प्रगति विवरण राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
सोही अवसरमा राष्ट्रपति चुरे तराई संरक्षण समितिका अध्यक्ष रामेश्वर खनालले चुरे क्षेत्रमा भएको बिनासप्रति राष्ट्रपति स्वयंले चासो लिएकाले चुरे संरक्षणको कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
चुरे क्षेत्रबाट ढुंगा, गिटी निकाल्ने कार्यलाई पनि व्यवस्थित गरिने उनले बताए । IMAGEKHABAR