काठमाडौं, मंसिर २७ । एमालेले १७ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । पार्टी मुख्यालय बल्खुमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले १४ जना पदाधिकारी, वरिष्ठ नेता झलनाथ खनाल र पार्टीको तेस्रो वरीयतामा रहेका नेता माधवकुमार नेपालसँगै मुकुन्द न्यौपाने सदस्य रहेको स्थायी कमिटी गठन गरेको हो ।
आजै सहमतिका आधारमा स्थायी कमिटीलाई पूर्णता दिने भनिए पनि नाममा सहमति जुट्न नसकेपछि आइतबार बिहान १० बजेपछि स्थायी कमिटीमा सदस्य थप र पोलिटब्युरो चयन गर्ने निर्णय गरिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
स्थायी कमिटी सदस्यका लागि पूर्वसचिव शंकर पोखरेल र नेताहरु सुरेन्द्र पाण्डे र छविलाल विश्वकर्माको नाम प्रस्ताव गरिएपनि उपाध्यक्ष बामदेव गौतमले किरण गुरुङलाई पनि समेट््न माग गरेपछि मधेसीलाई पनि समेट्न दबाब परेको थियो ।
नेताहरुमाथि दबाब बढ्दै गएपछि एमाले स्थायी कमिटीको संख्या २३ सदस्यीयसम्म पुग्न सक्ने अनुमान गरिएको छ । एमालेले आइतबार नै पोलिटब्युरो सदस्य चुन्नका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
यसअघि शनिबार पोलिटब्युरो सदस्य चुन्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । तर, नेताहरुबीच सहमतिको प्रयास जारी रहेकाले निर्वाचनको कार्यक्रम आइतबारका लागि सारिएको एमाले नेताहरुले जनाएका छन् ।
एमालेले सहमतिबाट पोलिटब्युरो सदस्य चुन्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई दिएको छ । नेताहरुले सहमतिबाटै पोलिटब्युरो सदस्य चयन गर्ने प्रयास गर्ने बताएका छन् । IMAGEKHABAR