प्रमुख दलका शीर्ष नेताहरुले संविधानका विवादित विषयमा प्याकेजमै सहमति खोज्ने प्रयासलाई थप तीव्रता दिने

काठमाडौं, पौष २७ । प्रमुख दलका शीर्ष नेताहरुले संविधानका विवादित विषयमा प्याकेजमै सहमति खोज्ने प्रयासलाई थप तीव्रता दिने जनाएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा शनिबार भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईसँगको छलफलमा कांग्रेस, एमाले र एकीकृत माओवादीका मुख्य नेताहरुले आगामी माघ ८ मै संविधान जारी गर्ने गरी सहमतिको प्रयासलाई थप तीव्रता दिने प्रतिबद्धता जनाएका हुन् ।
सभापति भट्टराइले कांग्रेस, एमाले र एमाओवादीका नेताहरुसँग संयुक्तरुपमा र मधेसी मोर्चाका नेताहरुसँग छुट्टै छलफल गरेका हुन् ।
दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति नजुटेपछि माघ ८ भित्र संविधान जारी हुने सम्भावना कमजोर बन्दै गएको छ ।
संवाद समितिका सभापति भट्टराईले विवादित विषयमा सहमति जुटाउन आइतबार पनि छलफल गर्ने जानकारी दिएका छन् । संवाद समितिले विवादित विषयमा सहमति जुटाउन सभापति भट्टराईलाई नै जिम्मा दिएपछि उनले छलफललाई तीव्रता दिएका हुन् । IMAGEKHABAR