एलपी ग्यासमा कालोबजारी गर्ने उद्योगी-व्यवसायीहरुको पहिचान भइसकेको र कारबाहीका लागि प्रक्रिया अगाडि

काठमाडौं, पौष २८ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले खाना पकाउने एलपी ग्यासमा कालोबजारी गर्ने उद्योगी-व्यवसायीहरुको पहिचान भइसकेको र कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् ।
केहि कालोबजारी गर्नेहरुलाई सरकारी वकिलको कार्यालयमार्फत् कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको र केहि शंकास्पद व्यक्तिहरुको अनुसन्धान आफैंले गरिरहेको उनको भनाइ छ ।
राजधानीमा आइतबार आयोजित साक्षात्कारमा प्रमुख जिल्ला अधिकारी अर्यालले नियामक निकायको भूमिका फितलो भएका कारण ग्यास अभाव भएको जिकिर गरे ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेलवासेले पनि अनुगनमका क्रममा कालोबजारी गर्दै गर्दा पक्राउ परेकालाई कारबाही गर्ने दाबी गरे ।
यस्तै, ग्यास विक्रेता महासंघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्यालले भने कालोबजारी गर्दै हिँड्ने ग्यास उद्योगीलाई सरकारले कारबाही नगर्दा बजारमा चरम ग्यास अभाव भएको जिकिर गरे ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले ग्यास आपूर्ति नै कम हुँदा ग्यास अभाव भएको बताए । केहि दिनमै ग्यास आपूर्ति सहज हुने उनले पुनः दाबी गरे ।
उपभोक्ता अनुसन्धान मन्चका अध्यक्ष माधव तिमल्सिनाले ग्यासमा कार्टेलिङ भए पनि सरकारले व्यापारीहरुलाई कारबाही गर्न नसक्दाको परिणाम देखिएको बताए ।
यता, नेपाल एलपी ग्यास उद्योग संघले १० दिनभित्र ग्यास आपूर्ति सहज हुने जनाएको छ । सीमा क्षेत्रमा ग्यास आयात प्रक्रिया सहज भए ५ दिनभित्र सहज हुने संघको भनाइ छ । IMAGEKHABAR