एमाले केपी ओलीद्धारा एकीकृत माओवादी कुनै पनि हालतमा संविधान नबनाउने खेलमा लागेको आरोप

काठमाडौं, माघ २ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत माओवादी कुनै पनि हालतमा संविधान नबनाउने खेलमा लागेको आरोप लगाएका छन् ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा शुक्रबार रिपोर्टस् क्लबको ज्ञापनपत्र बुझ्दै ओलीले एमाओवादीको केन्द्रीय कार्यालय संविधान बन्न नदिने उद्देश्यको केन्द्र बनेको आरोपसमेत लगाए ।
अध्यक्ष ओलीले जनमतको सम्मान गर्दै संविधान लेखनको प्रक्रियामा आउन एकीकृत माओवादीलाई आग्रह समेत गरे । उनले नेपालमै अट्न नसक्ने गरी दलहरुको मोर्चा बनाएर एमाओवादीले संविधान निर्माण प्रक्रियालाई भाँड्न खोजेको आरोपसमेत लगाए ।
ओलीले सहमतिमा पनि नआउने र प्रक्रियामा प्रवेश गर्न पनि नदिने एमाओवादी चरित्रलाई अलोकतान्त्रिक र अल्पमतको बलमिच्याइँ भनी टिप्पणी गरे । उनले जातीय राज्य आफूहरुलाई स्वीकार्य नहुने समेत स्पष्ट पारे ।
आफूहरुले हदैसम्म लचकता अपनाएर सहमतिको प्रयास गरेपनि एमाओवादीकै कारण आगामी माघ ८ मा संविधान जारी हुने सम्भावना कमजोर बनेको ओलीको भनाइ थियो ।
आफूहरुले विवादित विषयलाई थाँती राखेर भएपनि संविधान जारी गर्न प्रयास गर्ने भन्दै ओलीले आफू मधेस विरोधी नभएको समेत स्पष्ट पारे । IMAGEKHABAR