प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाल प्रेस युनियन लुम्बिनी अञ्चल समन्वय समितिको बैठकले साना लगानीका संचार माध्यमहरुमा टेलिफोन, विद्युत महसुल, सोलार र ईन्टरनेट लगायतका सेवामा छुट र अनुदानको व्यवस्था गर्न माग गरेको छ । अर्घाखाँचीको नरपानी, सुपादेउरालीमा सम्पन्न पहिलो वैठक तथा भेलाले सरकारले नीजि क्षेत्रसँगकोसमेत सहकार्यमा निर्णय गर्नुपर्ने निर्णय गरेको हो ।
सरकारी विज्ञापनको समानुपातिक वितरणकालागि विज्ञापन प्राधिकरण तत्काल बनाउनसमेत माग गरेको छ । भेलाले मोफसलका संचार माध्यमलाई समेत समानुपातिक ढंगले विज्ञापन वितरण गर्न सरकारसँग माग गरेको छ । भेलाले युनियनले यसकालागि सम्बन्धित निकायसमक्ष दबावमुलक अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
भेलाले सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायलाई सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयन गर्न आग्रह गरेको छ । पत्रकारको क्षमता विकास गर्ने कार्यक्रम तय गर्न सम्बन्धित सञ्चारगृह तथा सरोकारवाला निकायलाई आग्रह गर्ने भेलाले निर्णय गरेको छ । युनियनका अञ्चल संयोजक माधव अर्याल, सचिव टिपी भूसाल र भेला आतिथ्य शाखा अर्घाखाँचीका सभापति सूर्यप्रसाद भूसालले जारी गरेको घोषणापत्रमा नेपाली जनताको चाहना अनुसार तत्काल राजनीतिक सहमति लोकतान्त्रिक विधिद्धारा गरी प्रेसमैत्री लोकतान्त्रिक संविधान जारी गर्न माग गरेको छ । भेलाले संविधानसभामा रहेका सवै राजनैतिकदललाई अपिल गरेको छ ।
संचार माध्यमहरुमा कार्यरत पत्रकारहरुलाई अनिवार्य नियुक्ति दिएरमात्र काम गर्ने ब्यवस्था मिलाउन भेलाको माग रहेको छ । पत्रकारले पनि नियुक्ति लिएर मात्र काम गर्न आग्रह गर्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न सवै संचार माध्यमको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । भेलाले पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक समय सापेक्ष नभएकाले पुनरावलोकन गर्न सूचना तथा सञ्चार मन्त्रालय तथा न्युनतम पारिश्रमिक निर्धारण समितिलाई दबाव दिने निर्णय गरेको छ ।
भेलाले पत्रकारको अनिवार्य स्वास्थ्य विमाको व्यवस्था गरी कार्यान्वयन गर्ने र स्वदेशमा उपचार नभई विदेशमा उपचार गर्नु अवस्था आएमा स्वास्थ्य उपचार खर्च राज्यले ब्यहोर्नु पर्ने नीति बनाई कार्यान्वयन गर्न दवाव दिने निर्णय गरेको छ । लुम्विनी अञ्चल अन्तगर्तका सबै शाखा मार्फत् युनियनको संगठनलाई थप शसक्त बनाउन विभिन्न कार्यक्रम बनाउने भेलाले निर्णय गरेको छ ।
नयाँ पत्रकार उत्पादन गर्न तथा प्रेस युनियनमा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि केन्द्रीय समितीको समन्वयमा अञ्चल भरीका सवै जिल्लामा आधारभूत तथा एडभान्स लेवलका पत्रकारिता तालिम सञ्चालन गर्ने निणर्य गरेको जारी विज्ञप्तिले जनाएको छ ।